राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत सर्लाहीमा मृत फेला
Wednesday Jul 26, 2023
वि.सं.२०८० साउन १० बुधवार १३:०७
काठमाडौं । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत मृत भेटिएका छन् ।
अनुसन्धान अधिकृतका रूपमा सर्लाहीमा कार्यरत २९ वर्षीय बसन्त शाह आज बिहान इश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मृत फेला परेका सर्लाहीका डिएसपी जितेन पञ्जियार थारूले जानकारी दिए ।
गएराति ड्युटी सकेर इश्वरपुर नगरपालिका–६ बयलबासस्थित आफ्नो घर आउँदै गरेका उनलाई आज विहान भेटिएको हो ।
मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
उनी सवार बागमती प्रदेश–०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल सोही स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको डिएसपी थारूले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रकृया पूरा गरी मृतकको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको डिएसपी थारूले जानकारी दिए।

























