सामुदायिक वनमा आयमुलक कार्यक्रम गर्न उपभोक्ताको जोड्
Thursday Mar 07, 2024
वि.सं.२०८० फागुन २४ बिहीवार १७:३०
हेमनाथ खतिवडा
रसुवा । सामुदायिक वनमा आधारित उद्यम तथा आय मुलक कार्यक्रम लागू गर्नुपर्नेमा उपभोक्ताहरुले जोड्दिएका छन् ।
डिभिजन वन कार्यालयको आयोजनामा सामुदायिक वन उपभोक्ता समुहहरुको छलफल कार्यक्रममा उपभोक्ताहरुले वन तथा वातावरण संरक्षण र आय मुलक कार्यक्रम गर्नुपर्ने बताएका हुन् ।
उत्तरगया गाउँपालिका–२ को दियालेपाखा सामुदायिक वन भित्र भिजिङग्रा नामको जडिबुटीको फल संकलन गरेर चोरी निकासी भएको थाहा पाएकोले डिभिजन वन कार्यालयमा खबर गरेको उपभोक्ता शेरबहादुर तामाङले बताए । यस क्षेत्रमा भिजिङग्राको खेती गरेर आयआर्जन गर्न सकिन्छ । अर्का सहभागी मायादेवी तामाङले भनिन् ‘औषधिय गुण भएको तेल निकाल्न सकिने भिजिङ्ग्राको व्यवसायीक खेती गर्न सकिने रहेछ ।’
कार्यक्रममा सहभागीहरूले वन डँडेलो नियन्त्रण, ओखर, अलैची खेती, टिमुर, बास, निगालोको बिरुवा आवश्यक रहेकोले उपयुक्त समयमा उपलब्ध गराउनु पर्ने बताए ।
कुनाघारी सामुदायिक वनका उपभोक्ता समुहका जगतप्रसाद पौडेलले बाँदर तथा दुम्सीको कारण खेती बाली नष्ट गरेर हैरानी पारेकोले समस्या परेको बताए । उनले भने ‘हाम्रो सामुदायिक वनमा अतिक्रमण पनि बढेको छ ।’
आमाछोदिङमो गाउँपालिका–५ का ब्रानापाखा सामुदायिक वन उपभोक्ता समुहका लाक्पाछिरिङ तामाङले वर्षेनी रोपेको बिरुवा बाख्रा बस्तुले खाने कारण सामुदायिक वनमा समस्या भएको बताए । वनमा लौठसल्ल, डाचेचुक जस्ता जडिबुडी खेती गरेर आयआर्जन गर्न सकिन्छ । “बृक्षरोपण गरेर मात्र भएन, घेराबार गरेर संरक्षण गर्नुपर्छ । ”
सामुदायिक वन महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपानेले सामुदायिक वनमा उद्यम गरी आयआर्जन बढाउनुपर्ने बताइन् । उनले भनिन् ‘उपभोक्ताले खाली खुट्टा डोकोमा बिरुवा बोकेर बृक्षारोपण तथा संरक्षण गरेर हराभरा भएको जंगलबाट वनजन्य उत्पादन गरी गरिवी निवारणका लागि आयआर्जन मुलक गर्नुपर्छ ।’ कार्यक्रम सहजिकरण न्यौपानेले गर्दै वनको संरक्षण तथा स्थानीय आदिवासी उपभोक्ताको अधिकार सुनिश्चित हुनुपर्ने बताइन् ।
वनलाइ जीवन र जनजिविकासँग जोडेर आयमुलक काममा गर्नुपर्ने बताउँदै सवै उपभोक्ता समुहले समयमा वार्षिक साधारण सभा, लेखा परीक्षण र आयव्याय सार्वजनिक गर्नुपर्ने वार्षिक साधारण सभा तथा लेखा परीक्षण समयमा हुनुपर्ने बताउँदै उपभोक्ताको माग प्रति ध्यान दिने र त्यस्तो कार्यक्रम तय गर्न आफुन लागि पर्ने डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत प्रेमा थापाले बताइन् ।






















