एमाले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक शुरू, ओलीले गरे उदघाटन

Saturday Apr 20, 2024
वि.सं.२०८१ वैशाख ८ शनिवार २३:१२

नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठक शुरू भएको छ ।
शनिबार ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उदघाटन गरेका हुन् ।
बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले शहिद, अग्रज तथा जनताको आदर्श विश्वास एवम भरोसालाई कहिल्यै कमजोर हुन नदिने संकल्प गरे । शहिदहरु अग्रज तथा जनताको आदर्श विश्वास र भरोसालाई अविचलित एवम अथक रुपमा पछ्याइरहने समेत संकल्प गरे ।
उनले भने,‘हामी संकल्प गर्छौं । शहिदहरु अग्रज तथा जनताको आदर्श विश्वास र भरोसालाई हामीले कहिल्यै कमजोर हुन दिने छैनौं । अविचलित र अथक रुपमा पछ्याइरहने छौं । र त्यसलाई सफल बनाइ छाड्ने छौं ।’
उनले २०७७ साल यता नेकपा एमालेको लागि एकदमै चुनौतीपूर्ण रहेको स्मरण गरे । पार्टी विभाजन, सरकारबाट षड्यन्त्रपूर्ण घेराबन्दी, भ्रमपूर्ण प्रचारको माध्यमबाट नेकपा एमाले समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै तुलनात्मक रुपमा अनुकुल परिस्थितिमा आइपुगेको उनले बताए ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।