चितवनमा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ सम्पन्न

Monday Feb 10, 2025
वि.सं.२०८१ माघ २८ सोमवार ०७:५५

चितवन, कामना सेवा विकास बैंक र नेपाल युवा उद्यमी मञ्च (NYEF) चितवनको संयुक्त आयोजनामा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न भएको छ। व्यवसायी र बैंकबीचको दूरी घटाउने उद्देश्यले आयोजित कार्यक्रममा ६० भन्दा बढी युवा व्यवसायीको सहभागिता रहेको थियो।
कार्यक्रममा कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए विमन कार्की, नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष सुर्यभक्त अधिकारी लगायतले बैंकिङ प्रणाली, व्यवसाय सञ्चालनका चुनौती, तथा वित्तीय पारदर्शिताका विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै एफसिए विमन कार्कीले व्यवसायीहरूले नेपाल राष्ट्र बैंकका नियमको पालना गर्नुपर्ने र वित्तीय पारदर्शिता आवश्यक रहेको बताए। व्यवसायी सुर्यभक्त अधिकारीले कोभिड-१९ पछि साना तथा मझौला व्यवसायीहरू थप संकटमा परेकाले बैंकहरूले सहुलियत दिनुपर्ने आवश्यकता औंल्याए।
यसैगरी, पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त राज पराजुलीले होटल व्यवसायलाई बैंकहरूले विशेष प्राथमिकता दिनुपर्ने बताए। चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र वलीले बैंकिङ नीति, युवा जनशक्ति पलायन, र कोभिड-१९ पछि आएको वित्तीय मन्दीको असरबारे ध्यानाकर्षण गराए।
कार्यक्रममा सहभागी व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थासँग सम्वन्धित आफ्ना जिज्ञासा राखेका थिए, जसमा वक्ताहरूले स्पष्ट धारणा व्यक्त गरे।
नेपाल युवा उद्यमी मञ्च चितवनका प्रथम उपाध्यक्ष निशान पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द्वितीय उपाध्यक्ष सन्तोष कडेलले स्वागत मन्तव्य राखेका थिए भने कामना सेवा विकास बैंकका ब्रान्डिङ विभाग प्रमुख सुशिल पौडेलले कार्यक्रमको उद्देश्य स्पष्ट पारे।
कार्यक्रमको समापन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बैंक र व्यवसायीबीचको सहकार्यलाई अझ सुदृढ गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।