नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा योजना सुरु

Wednesday Feb 12, 2025
वि.सं.२०८१ माघ ३० बुधवार २२:२७

काठमाडौं, नेपाल पर्वतारोहण संघ (NMA) र सगरमाथा इन्स्योरेन्स कम्पनी बीच भएको सम्झौताअनुसार नेपाल पर्वतारोहण संघका स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा योजना सुरु गरिएको छ। यो योजना अन्तर्गत पर्वतारोहण दलका सहयोगी सदस्यहरू, जस्तै सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायक कर्मचारीहरूले बीमा सुविधा प्राप्त गर्न सक्नेछन्।
यस बीमा योजनाअनुसार प्रत्येक सहयोगी सदस्यले न्यूनतम रु. १५ लाख सम्मको दुर्घटना बीमा, रु. ४ लाख सम्मको स्वास्थ्य उपचार बीमा, र अमेरिकी डलर १०,००० सम्मको खोजी तथा हेलिकप्टर उद्धार बीमा कवरेज प्राप्त गर्न सक्नेछन्। यो बीमा योजना पर्यटन नियमावली अनुसार तय गरिएको न्यूनतम बीमा रकम हो।
नेपाल पर्वतारोहण संघले यो बीमा योजना स्रोत सदस्यहरूका लागि सहुलियत दरमा उपलब्ध गराएको छ। यसअघि पदयात्रा एजेन्सीहरूले यस्तो बीमा महँगो दरमा खरिद गर्नुपर्ने अवस्था थियो। तर अब संघले योजना ल्याएर स्रोत सदस्यहरूका लागि बीमा सुविधा सजिलो र सस्तोमा उपलब्ध गराएको छ।
सम्झौतापत्रमा नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नरु शेर्पा र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका थिए। यस सम्झौतालाई पर्यटन क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको उपस्थितिमा सार्वजनिक गरिएको थियो।
यो ट्रेकिङ बीमा योजना मार्च ०१, २०२५ देखि लागू हुनेछ। यसले पर्वतारोहण क्षेत्रमा कार्यरत सहयोगी कर्मचारीहरूको सुरक्षा र स्वास्थ्यलाई अझ बढी प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।