एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

Friday Apr 18, 2025
वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०८

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रीमा राखिएको सम्पत्तिसम्बन्धी विस्तृत जानकारी दिने उद्देश्यले अनलाइन लिलाम बिक्री पोर्टल सार्वजनिक गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको यो पोर्टलमार्फत बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम सम्बन्धी सम्पूर्ण विवरण प्राप्त गर्न सकिनेछ ।
ग्राहकहरूले प्रकाशित सूचनामा रहेको क्युआर कोड स्क्यान गरी पोर्टलमा जान सक्नेछन् । सो पोर्टलमा लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र लोकेशनसहितको जानकारी उपलब्ध गराइएको छ । साथै, गुगल म्यापमार्फत सम्पत्तिको सठिक स्थान पनि सजिलै पहिचान गर्न सकिन्छ ।
यदि कुनै सम्पत्ति खरिद गर्न थप जानकारी आवश्यक भएमा सोही पोर्टलमा रहेको म्यासेज बक्समा आफ्नो नाम, मोबाइल, ठेगाना र इमेल राखेर सिधा सन्देश पठाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार, उक्त पोर्टलमा नियमित रूपमा लिलाम बिक्रीसम्बन्धी सूचना अद्यावधिक गरिनेछ । यसले ग्राहकलाई सजिलै विश्वसनीय र पारदर्शी रूपमा सम्पत्ति खरिदबारे जानकारी लिन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।