जोखिमबाट निश्चिन्त हुन बीमा अपरिहार्य : अध्यक्ष पौडेल

Friday May 16, 2025
वि.सं.२०८२ जेठ २ शुक्रवार २२:२४

काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक पौडेलले जीवनमा निश्चिन्तता ल्याउन बीमा अत्यन्तै आवश्यक हुने बताएका छन् ।
नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले मानिसको जीवनमा जब-जब आकस्मिक जोखिम आउँछ, त्यसलाई बीमा कम्पनीमार्फत सहजै हस्तान्तरण गर्न सकिने बताए । उनले जीवनमा आउने संभावित आर्थिक संकटबाट सुरक्षित रहन बीमाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
उनले भने, “विमित समाज निर्माणतर्फ यो समारोह एउटा अभियानको रुपमा अगाडि बढ्नेछ । देशमा जोखिम, चुनौती र चिन्ता दिनप्रतिदिन बढ्दो क्रममा छन् । त्यसलाई व्यवस्थापन गर्न बीमा सबैभन्दा उपयुक्त माध्यम हो ।”
अध्यक्ष पौडेलले आगामी दिनमा सबै नेपाली नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउनुपर्नेमा जोड दिए । सबै जीवन बीमा कम्पनीहरू एकजुट भएर नागरिकको आर्थिक सुरक्षा सुनिश्चित गर्न अघि बढ्नुपर्ने धारणा उनले व्यक्त गरे । “हामी सबैले जनतालाई आर्थिक जोखिमबाट जोगाउन सकौं, यही शुभेच्छा,” उनले भने ।