पाकिस्तानले इजरायलमाथि परमाणु आक्रमण गर्ने भन्ने झूटा समाचारप्रति डारको कडा खण्डन

Tuesday Jun 17, 2025
वि.सं.२०८२ असार ३ मंगलवार ०९:४०

इस्लामाबाद, पाकिस्तान — पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले हाल सामाजिक सञ्जालमा फैलाइएको एउटा गलत र भडकाउ समाचारको कडा शब्दमा खण्डन गरेका छन्। उक्त समाचारमा एक वरिष्ठ इरानी जनरललाई उद्धृत गर्दै भनिएको थियो कि इरानमाथि कुनै आक्रमण भएमा पाकिस्तानले इजरायलमाथि परमाणु आक्रमण गर्नेछ।
सोमबार संसदको माथिल्लो सदन (सेनेट) मा बोल्दै डारले उक्त दावीलाई “पूर्ण रूपमा झूटा, गैर-जिम्मेवार र बनावटी” भनेका छन्। उनले क्षेत्रीय तनावबीच झूटा सूचनाहरू फैलिनु खतरनाक भएको बताउँदै सबै पक्षलाई संयम अपनाउन आग्रह गरे।
“पाकिस्तानले यस्तो कुनै पनि वक्तव्य दिएको छैन,” डारले भने। “यो अत्यन्त गैरजिम्मेवार र झूटा दाबी हो। युद्ध कुनै खेल होइन।”
परमाणु नीति रक्षा र शान्तिको लागि मात्र
डारले स्पष्ट पारे कि पाकिस्तानको परमाणु तथा मिसाइल कार्यक्रम पूर्णतः आत्मरक्षा र क्षेत्रीय स्थिरताको लागि हो। “हामीले सन् १९९८ मै भनिसकेका थियौं कि हाम्रो परमाणु क्षमता रक्षा र शान्तिका लागि हो। हामीले NPT (Non-Proliferation Treaty) मा हस्ताक्षर नगर्नुको कारण नै विश्वसनीय प्रतिरोध कायम राख्नु हो,” उनले बताए।
फेक समाचार र AI भिडियोप्रति चिन्ता
उपप्रधानमन्त्रीले पछिल्ला दिनमा सामाजिक सञ्जालमा फैलिएको गलत सूचना र कृत्रिम बुद्धिमत्ता (AI) द्वारा सिर्जित भिडियोहरूप्रति गम्भीर चिन्ता व्यक्त गरे। “पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पसम्बन्धी एक भिडियो पछि आएर AI द्वारा बनाइएको प्रमाणित भयो। नेतन्याहूको जुन अन्तर्वार्ता भाइरल भइरहेको छ, त्यो त २०११ को हो,” डारले भने। “यो बालखेल होइन — यो गम्भीर युद्ध हो।”
पाकिस्तानको कूटनीतिक पहल
डारले पाकिस्तानले क्षेत्रीय शान्ति कायम गर्न र तनाव न्युनिकरणमा रचनात्मक भूमिका खेलेको दाबी गरे। उनले भने, “संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा हामी सक्रिय थियौं। इरानले पनि पाकिस्तानको भूमिकाको प्रशंसा गर्यो। ओमान र इरानका विदेशमन्त्रीहरूसँग निरन्तर सम्पर्कमा थिएँ।”
डारका अनुसार, इरान वार्ताका लागि तयार रहेको संकेत गरिसकेको छ। “पहिलो आक्रमणपछि म इरानी विदेशमन्त्रीसँग सम्पर्कमा थिएँ। उनले भने, यदि इजरायलले दोश्रो आक्रमण गरेन भने, उनीहरू वार्ताको लागि तयार छन्। यो सन्देश हामीले अन्य मुलुकहरूलाई पनि पुर्याएका छौं। अझै समय छ — इजरायललाई रोकिन सकिन्छ, इरान तयार छ।”