कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो नेपालकै पहिलो डोरस्टेप बैंकिङ सेवा
Thursday Oct 16, 2025
वि.सं.२०८२ असोज ३० बिहीवार ०९:२८
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालकै पहिलो डोरस्टेप बैंकिङ सेवा सार्वजनिक गर्दै देशको बैंकिङ क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ। यो सेवा बैंकको विशिष्ट बचत खाता (Exclusive Savings Account) अन्तर्गत सुरु गरिएको हो।
यो नयाँ सुविधा विशेषगरी आफ्ना दैनिक कार्यमा व्यस्त रहने, बैंकसम्म पुग्न समय नपाउने तथा घर वा कार्यालयमै बैंकिङ सेवा लिन चाहने ग्राहकका लागि अत्यन्त उपयोगी हुने बैंकले जनाएको छ।
अत्याधुनिक प्रविधिमा आधारित यस सेवाअन्तर्गत ग्राहकहरूले नगद जम्मा गर्ने, खाताबाट नगद निकासी गर्ने, चेकबुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट लगायतका सेवाहरू आफ्नै घर वा कार्यालयमै वस्दै निशुल्क रूपमा प्राप्त गर्न सक्नेछन्।
ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् आवश्यक सेवा अनुरोध गर्न सक्नेछन्, र अनुरोध प्राप्त भएपछि बैंकका प्रतिनिधि तोकिएको स्थानमै पुगेर सो सेवा प्रदान गर्नेछन्। यस सुविधाले डिजिटल बैंकिङको प्रवर्द्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने विश्वास बैंकले लिएको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी सुरु गरिएको यो “डोरस्टेप बैंकिङ सेवा” नेपालकै पहिलो हो। प्रमुख मार्केटिङ अधिकृत श्री दिपेन्द्र सुवेदीका अनुसार, यो सेवा विश्वका केही विकसित देशमा प्रचलित भए पनि नेपालमा पहिलोपटक कामना सेवा विकास बैंकले सुरु गरेको हो।
सुवेदीका अनुसार, यस सेवाले ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै समयको बचत, सहजता र सुरक्षाको अनुभूति दिलाउनेछ। यो सेवा व्यवसायी, कार्यालयका कर्मचारी, गृहिणी तथा ज्येष्ठ नागरिकहरूका लागि विशेष उपयोगी हुनेछ।
ग्राहकहरूले लामो लाइनमा नबसी वा कागजी झन्झट नखेपी घरमै वसेर बैंकका सबै सेवा उपभोग गर्न सक्नेछन्। साथै, यस खाता अन्तर्गत बैंकले लकर सुविधा, एटीएम डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ।
हाल यो सेवा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरु गरिएको छ र निकट भविष्यमा देशभर विस्तार गर्ने योजना बैंकले सार्वजनिक गरेको छ।

























