नेपाल लाइफ इन्स्योरेन्स बनेको पहिलो जीवन बीमा कम्पनी जसले प्राप्त गर्यो डबल ए माइनस रेटिङ
Wednesday Oct 29, 2025
वि.सं.२०८२ कात्तिक १२ बुधवार १२:५८
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गरेको छ। यस श्रेणीमा पर्ने संस्थाहरूलाई उच्च स्तरको वित्तीय स्थायित्व र दायित्व समयमै पूरा गर्ने क्षमता भएको मानिन्छ। जीवन बीमा क्षेत्रमै यो रेटिङ प्राप्त गर्ने पहिलो कम्पनी नेपाल लाइफ बनेको हो।
कम्पनीले आफ्नो वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताको आधारमा यो उच्च रेटिङ प्राप्त गरेको हो। सन् २००१ मा स्थापित नेपाल लाइफले देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै, हालसम्म कुल बीमा शुल्कको हिसाबले २७% भन्दा बढी बजार हिस्सा कायम गरेको छ। कम्पनीको सोल्भेन्सी अनुपात १५०.४०% रहेको छ, जुन नेपाल बीमा प्राधिकरणको तोकिएको न्यूनतम भन्दा धेरै बढी हो।
कम्पनीले करिब ९४% लगानी स्थिर ब्याज दिने उपकरणहरूमा गरेको छ, जसले औसत १०.०२% प्रतिफल दिएको छ। आ.व. २०८०÷८१ मा कम्पनीले रु. २.१२ अर्ब खुद नाफा आर्जन गरेको थियो भने शेयरधनी कोषमा १८% प्रतिफल रहेको थियो। साथै, कम्पनीले नेपाल पुनर्बीमा, हिमालयन पुनर्बीमा र ह्यानोभर रि (जर्मनी)सँग पर्याप्त पुनर्बीमा गरी आकस्मिक क्षति जोखिमलाई न्यूनीकरण गरेको छ।
कम्पनीको अनुभवी संचालक समिति र दक्ष व्यवस्थापन टोलीले ग्राहकको विश्वास, पारदर्शिता र दीर्घकालीन वित्तीय स्थायित्व कायम राख्दै आएको छ। यस उच्च रेटिङले नेपाल लाइफको विश्वसनीयता, स्थिरता, सशक्त नेतृत्व र बजारमा अग्रस्थान कायम रहने क्षमतालाई पुष्टि गरेको छ।
कम्पनीको करिब ९८.८% व्यवसाय सावधिक जीवन बीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्व सुनिश्चित गरेको छ। आ.व. २०८१÷८२ को असार मसान्तसम्म कम्पनीले करिब १ अर्ब ३२ करोड रुपैयाँ विपद् कोष सुरक्षित राखेको छ। कम्पनीको जीवन बीमा कोष २३३ अर्ब र लगानी २४० अर्ब भन्दा माथि रहेको छ भने दावी भुक्तानी ६७ अर्ब भन्दा बढी पुगेको छ।
यस अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रेटिङ प्राप्तिमा योगदान गर्ने सम्पूर्ण सरोकारवालाहरूप्रति धन्यवाद व्यक्त गर्दै, कम्पनीको वित्तीय स्थायित्वलाई अझ सबल बनाउन जोखिम न्यूनीकरण र लगानी विविधिकरणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

























