एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, लक्ष्मी सन्राइज क्यापिटल विक्री प्रबन्धक नियुक्त
Tuesday Mar 17, 2026
वि.सं.२०८२ चैत ३ मंगलवार २२:१०
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड ले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। उक्त ऋणपत्रको बिक्री व्यवस्थापनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड लाई विक्री प्रबन्धक नियुक्त गरिएको बैंकले जनाएको छ।
बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८” नामक ऋणपत्र जारी गर्न लागेको हो। प्रति कित्ता एक हजार रुपैयाँ दरको ३० लाख युनिट ऋणपत्र निष्काशन गरिनेछ। जसमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख युनिट सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ६० प्रतिशत अर्थात् एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिने जनाइएको छ।
६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर रहनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ।
ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ ले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।




























