केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति
Monday Aug 03, 2026
वि.सं.२०८३ साउन १८ सोमवार २३:५४
काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक, पदाधिकारी र व्यवस्थापनसँग सम्बन्धित विषयमा सत्यतथ्य पुष्टि नगरी प्रकाशित तथा प्रसारित भएका भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा आधार, प्रमाण वा आधिकारिक पुष्टि बिना प्रकाशित समाचारले बैंकको संस्थागत प्रतिष्ठा, सार्वजनिक विश्वास तथा नियामकीय प्रणालीप्रति अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गर्दै यस्ता समाचारको पूर्ण रूपमा खण्डन गरेको छ।
प्रभु बैंकका अनुसार कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा समायोजन, आन्तरिक व्यवस्थापन, कर्जा असुली तथा वित्तीय लिलामीलगायतका कार्य नियमित प्रशासनिक तथा व्यावसायिक प्रक्रियाअन्तर्गत सञ्चालन हुने भएकाले यस्ता विषयलाई तथ्य पुष्टि नगरी सार्वजनिक गर्नु गैरजिम्मेवार सञ्चार अभ्यास भएको बैंकको धारणा छ।
विज्ञप्तिमा विगतमा देखिएका केही कर्जा फाइलसम्बन्धी विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भएको र त्यसका आधारमा आवश्यक जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा सुधारात्मक उपाय कार्यान्वयन गरिएको पनि उल्लेख गरिएको छ। बैंकले भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन प्रणालीगत सुधारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
साथै, सञ्चारमाध्यमलाई कुनै पनि समाचार प्रकाशन वा प्रसारणअघि सम्बन्धित पक्षबाट सत्यतथ्य पुष्टि गर्न आग्रह गर्दै बैंकले निष्पक्ष, तथ्यपरक र जिम्मेवार पत्रकारिताको अपेक्षा गरेको छ।






















