एनएमबि बैंकको पहल: आइएफसी र मेटलाइफसँगको साझेदारीमा ६ करोड डलरको हरित वण्ड जारी
Wednesday Apr 30, 2025
वि.सं.२०८२ वैशाख १७ बुधवार ०९:४५
काठमाडौं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आइएफसी (IFC) र मेटलाइफ (MetLife)सँगको साझेदारीमा नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँमा अंकित हरित वण्ड (Green Bond) जारी गर्ने उद्देश्यले साझेदारी पत्रमा हस्ताक्षर गरेको छ।
बैंकका अनुसार, यस साझेदारीको मुख्य उद्देश्य जलवायु परियोजनामा संलग्न उद्यममा लगानी बढाउने, गुणस्तरीय रोजगारी सिर्जना गर्ने तथा देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने हो।
हरित वण्डबाट संकलित रकम सौर्य ऊर्जा, विद्युतीय सवारी साधन, हरित भवन निर्माण तथा बायोमास परियोजनाजस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरिनेछ। यसले नेपालको जलवायु अनुकूलन तथा दिगोपन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले यो पहलले नवीकरणीय ऊर्जा लगायतका क्षेत्रमा परिवर्तनकारी फड्को मार्ने विश्वास व्यक्त गरे। साथै, उनले यस साझेदारीमार्फत विदेशी पूँजी भित्र्याई वातावरणीय प्रभाव न्यूनिकरणमा थप टेवा पुग्ने बताए।

























