सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “सी स्ट्राइक्स” च्याम्पियन
Wednesday Apr 30, 2025
वि.सं.२०८२ वैशाख १७ बुधवार ०९:४९
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सी स्ट्राइक्स – कर्पोरेट महिला क्रिकेट” प्रतियोगितामा लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको छ। शनिबार सम्पन्न फाइनल खेलमा सानिमा रिलायन्सले सूर्य नेपाललाई २८ रनले पराजित गर्दै उपाधि रक्षा गर्यो।
मुलकोटस्थित एक रिसोर्टमा आयोजित खेलमा पहिले ब्याटिङ गर्दै सानिमा रिलायन्सले ५ ओभरमा ४ विकेट गुमाएर ६० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै पाँच ओभर खेले पनि एक विकेट मात्र गुमाएर ३२ रनमै सीमित रह्यो।
सानिमा रिलायन्सको जितमा कप्तान स्वस्तिका कार्कीको प्रदर्शन विशेष उल्लेखनीय रह्यो। उनले फाइनल खेलमा प्लेयर अफ दि म्याचको उपाधि जित्नुका साथै प्रतियोगिताकै प्लेयर अफ दि टुर्नामेन्ट पनि घोषित भइन्। कार्कीले प्रतियोगिताभर तीन पटक प्लेयर अफ दि म्याच अवार्ड जितिन्।
यस्तै, सानिमा रिलायन्सकी अर्की खेलाडी रक्षा रानाले एक खेलमा प्लेयर अफ दि म्याचको अवार्ड हात पारिन्। सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको रूपमा पनि कप्तान कार्की नै अग्रस्थानमा रहिन्।
एन इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिता वैशाख १२ देखि १३ गतेसम्म चल्यो। प्रतिस्पर्धामा कुल ९ टिम सहभागी थिए भने प्रत्येक पारी पाँच ओभरको थियो।

























