अब लोकसेवामा जागिर खाने उमेर ३५ बाट घटाएर २८ वर्षमा झार्ने र बाहुन-क्षेत्रीलाई पनि आरक्षण छुट्टाईने
Monday Feb 18, 2019
वि.सं.२०७५ फागुन ६ सोमवार ०९:५८

काठमाडौ फागुन ६ । लोक सेवामा जागिर खानका लागि अहिले कायम रहेको ३५ वर्षको उमेरहद घटाएर २८ वर्षमा झार्न एक सांसदले प्रस्ताव गरेका छन् ।
संघीय निजामती ऐन विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसद भरत साहले उमेर हद घटाउन प्रस्ताव गरेका हुन् ।
‘अहिले ३५ वर्षसम्म लोकसेवामा भर्ना गर्ने गरिएको छ, त्यो बूढो उमेरमा भर्ना भएर के गर्ने ? ३५ वर्षलाई २८ वर्षमा झार्नुपर्छ । भारत पाकिस्तानमा पनि २८ वर्ष छ,’ सांसद शाहले भने ।
संसदको लेखा समितिको सभापति समेत रहेका सांसद शाहले पेन्सन या निवृत्तिभरणका लागि ५८ वर्षसम्म सेवा गर्नुपर्ने प्रावधन राख्न माग गरे । ‘कसैले २१ वर्षमा जागिर खायो भने ४१ वर्षमै पेन्सन पाक्छ । ५८ वर्ष नपुगी पेन्सन दिनु हुन्न जहिले भर्ना भएको भएपनि,’ उनले भने ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले सोमवार संसदमा सो विधेयक पेश गरेका हुन् ।
विधेयकमाथि छलफल जारी छ ।
त्यस्तै निजामती सेवामा पदपूर्ति गर्दा ब्राह्मण र क्षेत्रीलाई पनि आरक्षण कोटा छुट्टाउन नेकपाका एक सांसदले माग गरेका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा संघीय निजामती ऐनमाथिको सैद्धान्तिक छलफलका क्रममा नेकपा सांसद गणेश ठगुन्नाले संविधानको भावनाअनुसार बाहुन-क्षेत्रीलाई पनि आरक्षण कोटा छुट्टाउन माग गरेका हुन् ।
‘हाम्रो संविधानको प्रस्तावनामा समावेशी सिद्धान्तका आधारमा समतामुलक समाज निर्माण गर्ने भन्ने उल्लेख छ । संसदमा आएको विधेयकमा पदपूर्ति सम्बन्धी व्यवस्थामा क्लस्टर छुट्टाउँदा देशको सबैभन्दा धेरै जनसंख्या रहेको बाहुन- क्षेत्रीको व्यवस्था छैन । त्यसभित्र सहभागिता गराउनु पर्ने धेरै जाति छन्,’सांसद ठगुन्नाले भने, ‘पूरै बाहुन-क्षेत्री सम्पन्न भएका छैनन् । संविधानको प्रावधानसँग बाँझिएकोले यो क्लस्टर समावेश हुनुपर्छ ।’
सांसद गठुन्नाले हचुवाको भरमा पिछडिएको जिल्ला छुट्टाउँदा दार्चुला हटेको भन्दै पिछडिएको क्षेत्रमा समावेश गर्न आग्रह गरे ।























