माछापुच्छ्रे क्यापिटल र लक्ष्मी सन्राइज बैंकबीच ३ अर्बको ‘७% लक्ष्मी सन्राइज डिबेञ्चर २०९२’ निष्काशन सम्झौता
Thursday Aug 14, 2025
वि.सं.२०८२ साउन २९ बिहीवार २२:२९
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा लक्ष्मी सन्राइज बैंक लिमिटेडबीच “७% लक्ष्मी सन्राइज डिबेञ्चर २०९२” नामक ऋणपत्र सार्वजनिक निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टि सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता मिति २०८२ साउन २९ गते हस्ताक्षर गरिएको हो।
लक्ष्मी सन्राइज बैंकले कुल ३० लाख कित्ता, प्रति कित्ता अंकित मूल्य रू. १,००० का दरले, कुल रकम रू. ३ अर्ब बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्नेछ। यसका लागि माछापुच्छ्रे क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको हो।
सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र लक्ष्मी सन्राइज बैंकका प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो, जसले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निक्षेप सदस्यता, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आएको छ।




























