मध्यपूर्व तनावले कच्चा तेलको मूल्य उकालो, विश्वभर ऊर्जा संकटको चिन्ता
Monday Mar 09, 2026
वि.सं.२०८२ फागुन २५ सोमवार २१:१३
काठमाडौं । इजरायल, अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण पेट्रोलियम आपूर्तिमा अवरोध आउने संकेत देखिएसँगै विश्व बजारमा तेलको मूल्य उकालो लागेको हो।
विश्वको महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ हुँदै हुने तेल तथा ग्यास आपूर्तिमा अवरोध आउन सक्ने आशंकाले अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यही मार्गबाट विश्वको ठूलो परिमाणमा कच्चा तेल आपूर्ति हुने गर्दछ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०२२ यता पहिलो पटक प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको छ। मध्यपूर्वमा तनाव बढ्दै जाँदा ऊर्जा आपूर्तिमा संकट आउन सक्ने त्रास विश्वभर बढिरहेको छ।
इरानमाथि हालै भएको हवाई आक्रमण र तेल डिपोहरूलाई लक्षित गरिएको घटनापछि ऊर्जा बजारमा थप अस्थिरता देखिएको बताइएको छ। इरानले दैनिक करिब १६ लाख ब्यारेल कच्चा तेल निर्यात गर्ने गर्छ, जसको ठूलो हिस्सा चीनले खरिद गर्ने गर्दछ।
यदि स्ट्रेट अफ हर्मुजमार्फत हुने तेल र ग्यास आपूर्ति निरन्तर प्रभावित भए कच्चा तेलको मूल्य अझै बढेर प्रतिब्यारल १५० अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।




























