आयोजना प्रभावित र वैदेशिक नेपालीका लागि याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आउँदै
Thursday Mar 12, 2026
वि.सं.२०८२ फागुन २८ बिहीवार ०९:४०
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आउँदो चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल २८ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको हो। यसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।
आयोजना प्रभाविततर्फ छुट्याइएको आईपीओमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। त्यस्तै वैदेशिक रोजगारीतर्फ छुट्याइएको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूले आवेदन दिन पाउनेछन्।
आईपीओमा आवेदन दिँदा आयोजना प्रभावित स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभाविततर्फको आईपीओ निष्काशन छिटोमा चैत २२ गते बन्द हुनेछ र सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा वैशाख ७ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीतर्फको आईपीओ भने छिटोमा चैत ११ गते बन्द हुनेछ र पर्याप्त आवेदन नपरेमा चैत २२ गतेसम्म खुला रहनेछ।
आयोजना प्रभावित स्थानीय बासिन्दाले सिन्धुपाल्चोकस्थित याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको कार्यालयका साथै सिन्धु विकास बैंक लिमिटेड, कुमारी बैंक लिमिटेडको जुगल गाउँपालिकास्थित शाखा कार्यालय तथा सिन्धु विकास बैंककै चौतारास्थित कार्यालयबाट आवेदन फाराम प्राप्त गरी बुझाउन सक्नेछन्।




























