हुन्डाई एक्स्टर २०२६ फेसलिफ्ट भारतमा सार्वजनिक, बुकिङ खुला
Sunday Mar 22, 2026
वि.सं.२०८२ चैत ८ आइतवार ०९:०७
काठमाडौं । Hyundai Motor India ले आफ्नो लोकप्रिय माइक्रो एसयूभी Hyundai Exter को नयाँ २०२६ फेसलिफ्ट संस्करण भारतीय बजारमा सार्वजनिक गरेको छ। सन् २०२३ मा पहिलोपटक लन्च भएको यो मोडलमा गरिएको यो पहिलो ठूलो अपडेट हो।
नयाँ एक्स्टरको सार्वजनिकसँगै बुकिङ पनि खुला गरिएको छ। ग्राहकहरूले अनलाइन वा नजिकको हुन्डाई शोरुममार्फत बुकिङ गर्न सक्नेछन्। कम्पनीका अनुसार यसै महिनाको अन्त्यसम्म डेलिभरी सुरु हुने अपेक्षा गरिएको छ।
बजारमा नयाँ एक्स्टरले Tata Punch, Maruti Suzuki Vitara Brezza र Nissan Magnite जस्ता मोडलहरूसँग प्रतिस्पर्धा गर्नेछ।
डिजाइनका हिसाबले नयाँ एक्स्टरमा अगाडिको भागमा नयाँ बम्पर, कालो रेडिएटर ग्रिल तथा १५ इन्चका डायमण्ड कट अलोय ह्विल समावेश गरिएको छ। पछाडिको भागमा पुनः डिजाइन गरिएको टेलगेट र नयाँ विङ शैलीको स्पोइलरले यसको लुकलाई थप आधुनिक बनाएको छ। साथै, गोल्डेन ब्रोन्ज र टाइटेनियम ब्ल्याक म्याट जस्ता नयाँ रङ विकल्प पनि उपलब्ध छन्।
इन्टेरियरमा पनि उल्लेखनीय परिवर्तन गरिएको छ। ड्युअल टोन नेभी र ग्रे थिम, थ्रीडी कार्बन प्याटर्न फिनिश भएको ड्यासबोर्ड, डी–कट स्टेयरिङ ह्विल, मेटल प्याडल र फोल्डिङ ड्राइभर आर्मरेस्टले क्याबिनलाई प्रिमियम बनाएको छ।
फिचरका हिसाबले नयाँ एक्स्टरमा सेगमेन्टमै पहिलो पटक इनबिल्ट ड्यास क्याम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ६० भन्दा बढी ब्लुलिङक कनेक्टिभिटी सुविधा तथा इन्टरनेट बिना सञ्चालन हुने ३०० भन्दा बढी भ्वाइस कमान्ड समावेश गरिएको छ। साथै, इलेक्ट्रिक सनरुफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र पछाडिका यात्रुका लागि टाइप–सी यूएसबी पोर्ट पनि उपलब्ध छन्।
सुरक्षाका लागि यसमा ४५ भन्दा बढी फिचर राखिएका छन्, जसमध्ये ३० वटा सबै भेरिएन्टमा स्ट्यान्डर्ड रूपमा उपलब्ध छन्। यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र हिल स्टार्ट असिस्ट जस्ता प्रविधि समावेश छन्।
इन्जिनतर्फ, नयाँ एक्स्टरमा १.२ लिटर चार सिलिन्डर पेट्रोल इन्जिन राखिएको छ, जसले ८३ हर्सपावर उत्पादन गर्छ। कम्पनीले यस सेगमेन्टमा ४ सिलिन्डर इन्जिन दिने यो एकमात्र मोडल भएको दाबी गरेको छ। यो म्यानुअल र अटोमेटिक दुवै गियरबक्समा उपलब्ध हुनेछ। साथै, ड्युअल सिलिन्डर सीएनजी भेरिएन्ट पनि उपलब्ध छ, जसमा २२५ लिटर बुट स्पेस रहेको छ।




























