एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता हुने
Friday May 15, 2026
वि.सं.२०८३ जेठ १ शुक्रवार ०९:०४
काठमाडौं — GoldenGate International College अन्तर्गतको Golden Gate Basketball Club ले एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता २०८३ जेठ ८ र ९ गते (मे २२–२३, २०२६) बत्तीसपुतलीस्थित कलेज परिसरमा सञ्चालन हुनेछ।
कलेजका अनुसार विद्यार्थीहरूमा खेल प्रतिभा पहिचान गर्ने, प्रोत्साहन दिने तथा राष्ट्रिय स्तरको खेल वातावरणसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। १३ पटक राष्ट्रिय च्याम्पियन बनिसकेको क्लबले यो प्रतियोगिताले नयाँ खेलाडीहरूलाई क्षमता प्रदर्शन गर्ने अवसर दिने विश्वास व्यक्त गरेको छ।
प्रतियोगितामा विजेता टोलीले २० हजार रुपैयाँ तथा उपविजेता टोलीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडी (MVP) लाई बास्केटबल जुत्ता प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूले १५ दिने निःशुल्क बास्केटबल प्रशिक्षण क्याम्पमा सहभागी हुने अवसर पाउनेछन्। सो क्याम्पमा राष्ट्रिय प्रशिक्षक तथा खेलाडीहरूले प्रशिक्षण दिनेछन्।
त्यसैगरी, प्रतियोगितामा सहभागी एसईई उत्तीर्ण विद्यार्थीहरूले कक्षा ११ मा विशेष छात्रवृत्तिमा भर्ना हुने अवसर समेत पाउनेछन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई क्लबमा आबद्ध गरिने सम्भावना रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन प्रति टोली १,००० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ। इच्छुक टोलीहरूले अनलाइन फारममार्फत दर्ता गर्न सक्नेछन्।




























