एन आईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, सम्पत्तिको विस्तृत विवरण अनलाइनमै उपलब्ध
Saturday May 16, 2026
वि.सं.२०८३ जेठ २ शनिवार १३:२२
काठमाडौं। एन आई सी एशिया बैंक ले आफ्ना बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउन अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत लोकेशनसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सकिनेछ।
बैंकका अनुसार ग्राहकहरूले लिलाम सम्बन्धी प्रकाशित सूचनामा रहेको क्युआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गर्न सक्नेछन्। साथै, खरिद गर्न इच्छुक व्यक्तिहरूले सम्बन्धित सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा पोर्टलमा रहेको म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
बैंकले उक्त पोर्टलमा नियमित रूपमा बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्ति, धितो सुरक्षणमा रहेका सम्पत्ति तथा लिलाम बिक्री सम्बन्धी अन्य सूचना प्रकाशन गरिने जनाएको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले डिजिटल माध्यममार्फत सम्पत्ति सम्बन्धी जानकारीलाई थप पारदर्शी र सहज बनाउने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको बताए।



























