एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त
Tuesday Jun 02, 2026
वि.सं.२०८३ जेठ १९ मंगलवार २१:५९
एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त हुनुभएको छ। २०८३ साल जेठ १८ गते सम्पन्न बैंकको २८औँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट उहाँलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले आगामी चार वर्षको कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। अध्यक्ष अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याउनुभएको छ।
उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथै दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा बैंकले उच्चतम उपलब्धिहरू हासिल गर्दै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने विश्वास बैंकले लिएको छ।

























