CG Electronics
IME Life
NIMB

शैक्षिक परामर्श क्षेत्रमा धरौटी चाहिँदैन, व्यवसायीले स्वीकार्ने अवस्था छैन : इक्यान अध्यक्ष पौडेल

NIMB
Himalayan Bank

 

काठमाडौं । यतिखेर नेपालको शैक्षिक परामर्श (कन्सल्टेन्सी) क्षेत्र सरकारी नियमन र धरौटीको विषयलाई लिएर निकै तरंगित भएको छ । सरकारले परामर्श संस्थाहरूलाई व्यवस्थित बनाउने नाममा धरौटीको प्रावधान ल्याउन खोजेपछि व्यवसायीहरूमा त्रास र अन्योल सिर्जना भएको छ । परामर्श व्यवसायीहरूले सरकारको एकतर्फि नीतिप्रति तीव्र असन्तुष्टि जनाउँदै आएका छन् । विशेषगरी, दर्ता प्रक्रियालाई व्यवस्थित नगरी धरपकड गर्नुका साथै धरौटीको प्रावधान लागू गर्ने सरकारी नीतिले हजारौँ व्यवसायीहरू अन्यौलमा छन् । सरकारले शैक्षिक परामर्शलाई व्यापारिक प्रयोजनले मात्र नभई एक सेवामूलक संवेदनशील क्षेत्रका रूपमा बुझ्नुपर्ने उनीहरुको माग छ । यही सन्दर्भमा शैक्षिक परामर्श व्यवसायीहरुको पूरानो र ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’सँग गरिएको विस्तृत कुराकानीः

यतिखेर शैक्षिक परामर्श क्षेत्र नियमन र धरौटीको कुराले निकै तरंगित देखिन्छ । कसरी यस्तो अवस्था आयो ?

यस्तो अवस्था आउनुमा सरकार नै दोषी देखिन्छ । शिक्षा मन्त्रालयले झण्डै एक दशकदेखि नयाँ दर्ता प्रक्रिया रोकेर राखेको छ । कन्सल्टेन्सी संचालनको अनुमति दिएको छैन । व्यवसायीहरुले दशक बढी समयदेखि व्यवसाय गरिरहेका छन् । कानुन बन्नुअघि देखि पेशा व्यवसाय गरेका व्यवसायीलाई अनुमति दिन रोकेर नियमनको नाममा धरपकड गर्नु जायज हुनै सक्दैन ।

अर्को कुरा सरकारले परामर्श संस्थाहरूलाई व्यवस्थित बनाउने नाममा धरौटीको प्रावधान ल्याउन खोजेपछि व्यवसायीहरूमा अन्योल सिर्जना भएको छ । धरौटी आवश्यकताको विषय हैन । धरौटीको व्यवस्था कुनै पनि व्यवसायीले स्वीकार्ने अवस्था छैन । यस्तो परिस्थितीमा सरकारले धरौटीको व्यवस्था गर्न लाग्नु दुखद कुरा हो । हामीमाथि बन्न लागेको कानुनबारे हामीसँग छलफल नगरी, जानकारी नदिइ अन्य माध्यमबाट धरौटीको कुरा सुन्नुपर्दा अन्यौलको अवस्था सिर्जना भएको छ ।

सरकारले लागू गर्ने भनेको धरौटीको व्यवस्थाप्रति तपाईंहरूको असहमती किन ?

धरौटीको व्यवस्थाप्रति सहमत हुने ठाउँ नै छैन । यसमा सरकार के कुरामा प्रस्ट हुनुपर्छ भने, कन्सल्टेन्सीहरु विशुद्ध सेवामूलक परामर्श दिने व्यवसायीक क्षेत्र हो । हामी कुनै विश्वविद्यालय वा कलेजमा भर्नाको ग्यारेन्टी गर्न सक्दैनौं, नत विद्यार्थीको शैक्षिक शुल्क निर्धारण गरेर कारोवार गर्नेमा पर्छौं । हामी शैक्षिक शुल्कसम्बन्धि कुनैपनि आर्थिक कारोवार गर्दैनौं ।

त्यो त विद्यार्थी र सम्बन्धित शैक्षिक संस्थाबीच बैंकिङ प्रणालीमार्फत प्रत्यक्ष कारोबार हुन्छ । यस्तो अवस्थामा कन्सल्टेन्सीले कुनै आर्थिक दायित्व वहन गर्ने कुरै हुँदैन । हामीले पाउने भनेको विद्यार्थीलाई परामर्श दिएवापत सामान्य सेवा शुल्क मात्रै हो । अनि किन चाहियो धरौटी ? यदी कसैले बदमासी गर्छ वा ठगी गर्ने उदेश्यले काम गर्छ भने सरकारले नियमन गरी कानुनी दायरामा ल्याएर कडा कारवाही गर्दा हुन्छ । यसमा हाम्रो पनि सहयोग रहन्छ ।

त्यसो भए विद्यार्थीको शैक्षिक शुल्क (फी)को सुरक्षामा कन्सल्टेन्सीको कुनै जिम्मेवारी छैन ?

विद्यार्थीले पढ्न जाने विश्वविद्यालय वा कलेजमा बुझाइने शैक्षिक शुल्क (फी)को सुरक्षा कन्सल्टेन्सीसँग कतै जोडिएकै छैन । विद्यार्थीको पैसा नेपाल राष्ट्र बैंकबाट शिक्षा मन्त्रालयको एनओसी लिएर सिधै सम्बन्धित शैक्षिक संस्थाको एकाउन्टमा जान्छ । उदाहरणको लागि अस्ट्रेलियाको कुनै युनिभर्सिटी वा कलेजमा समस्या आयो वा बन्द हुने अवस्था भए त्यहाँको सम्बन्धित निकायले नै जिम्मा लिन्छ । ‘ट्युसन प्रोटेक्ट सर्भिस’ले हेर्छ । विद्यार्थीले त्यहाँबाट क्षतिपूर्ति लिने हो, नेपालमा रहेका कन्सल्टेन्सीसँग होइन । अन्य मुलुकहरुमा पनि विद्यार्थीको शैक्षिक शुल्क सुरक्षित नै हुन्छ । यही कुरा सरकारमा रहेका अधिकारीहरुले बुझे धरौटीको कुरै उठ्दैन ।

यदि सरकारले धरौटीको भारी बोकायो भने इक्यानको अर्को कदम के हुन सक्छ ?

पहिलो कुरा धरौटीको विषयमा हामी सरोकारवाला संघसंस्था वा व्यवसायीसँग सरकारले कुनै छलफल र अन्तरक्रिया गरेको छैन । के आउँदैछ भन्ने नै थाहा छैन ? कसरी रोक्ने ? हामीले शैक्षिक परामर्श क्षेत्रमा धरौटी चाहिन्न भनेर सार्वजनिक फोरमहरुबाट निरन्तर भनिरहेका छौं । सरकारी अधिकारीहरुलाई पनि यसको औचित्य छैन भनेर बताइरहेका छौं ।

समस्या व्यवहारमा होइन मानसिकतामा अड्किएको छ । अझै पनि समय छ, नयाँ नियमावली आउनु अगाडि सरकारले कम्तिमा एकपटक टेबलमा राखेर हाम्रो कुरालाई सुनोस् । बोलाउनुस् न, टेबलमा राख्नुस् । हामीले भनेको कुरा सबै स्वीकर गर्नै पर्छ भन्ने छैन ? सुन्नुस् न हाम्रो कुरा । त्यसपछि पोलिसी बनाउनुस् । हाम्रो चाहना यत्ति हो । अनि यदि राम्रो नीति आएन भने संस्थागत रूपमा लड्ने कुरा छँदै छ ।

तपाईंलाई थाहा छ, देशभर ठ्याक्कै कति कन्सल्टेन्सी छन् ? तथ्यांकमा भन्न सक्नुहुन्छ, यसको वास्तविकता ?

खासमा भन्दा समस्या नै तथ्यांकमा छ । को सँग छ तथ्यांक ? हामी एउटा व्यवसायीको छाता संगठन मात्रै हौं । जहाँ संस्थामा आवद्ध सदस्यहरुको मात्रै तथ्यांक हुन्छ । तथ्यांक राख्ने हाम्रो अधिकार वा क्षेत्राधिकारमै पर्दैन । तथ्यांक राख्नुपर्ने शिक्षा मन्त्रालय वा सम्बन्धित निकायले हो । त्यही निकायसँग पनि एक्ज्याक्ट तथ्यांक छैन, देशभर कति कन्सल्टेन्सी छन् भन्ने कुरा ।

कसैले ५ हजार भन्छन्, कसैले ७ हजार, कसैले १० हजार । कम्पनी रजिस्ट्रारको कार्यालयमा शैक्षिक परामर्श भनेर दर्ता भएको हेर्दा १० हजारको हाराहारीमा देखिन्छ । तर के ती सबैले सेवा दिइराखेका छन् ? त्यो प्रश्नको जवाफ शिक्षा मन्त्रालयसँग हुनुपर्ने हो, तर कसैसँग छैन । यो सबै सरकारी कमजोरी र अनुगमन नगर्दाको परिणाम हो ।

यति धेरै कन्सल्टेन्सीहरु रहेछन् अनुमतिबिना पनि व्यवसाय चलाइरहेका व्यवसायीहरु थुप्रै होलान्, उनीहरुको समस्या हल गर्न कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

संघीय सरकार भनौं शिक्षा मन्त्रालयले नयाँ दर्ता रोकेको लामो समय भइसक्यो । तर कतिपय प्रदेशहरुले संचालन अनुमति दिएका थिए । केहीले व्यवसाय संचालनको लागि स्वीकृति लिएपनि थुप्रै व्यवसायीहरुले प्रदेशमा दर्ता खुला भएको अवस्थामा अनुमतिपत्र नलिनु कमजोरी भयो । यसलाई व्यवस्थित, मर्यादित पारदर्शि बनाउन कानुनी दायरामा ल्याउनै पर्छ । शैक्षिक परामर्श तथा भाषा कक्षाको लागि अनुमति नपाएका वा नलिएका कन्सल्टेन्सीहरुको संख्या हजारौंमा छ । अहिले पनि विभिन्न प्रदेशमा रहेका कन्सल्टेन्सीहरु विना अनुमति संचालनमा छन् । जो–जो कानुन विपरित संचालनमा छन् उनीहरु कारवाहीको भागिदार हुनैपर्छ ।

जसले अनुमति लिने अवसर पाएर पनि दर्ता प्रक्रियामा गएनन् उनीहरुले संस्था बन्द गर्दा पनि हुन्छ । यदी कसैले अनुमतिको लागि फाइल बुझाएर पनि स्वीकृति पाएका छैनन् उनीहरुको लागि इक्यान लड्छ । त्यतिमात्र नभएर अनुमति विना कन्सल्टेन्सी संचालन गरिरहेका व्यवसायीमाथि धरपकड नहोस भनेर सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रमुखहरुसँग सहजीकरणका लागि छलफल र समन्वय गरिरहेका छौं । नियम–कानुन नबन्दै आएको व्यवसायलाई आज अचानक लाइसेन्स छैन भनेर धरपकड गर्नु उचित होइन । कानुनै नबनेको अवस्थामा सुरु गरिएको व्यवसायलाई व्यवस्थित गर्ने र सञ्चालन अनुमति दिनुपर्छ ।

इक्यानमाथि आफ्नै सदस्यहरूले समस्या समाधानमा संस्थागत रूपमा पहल गरिएन भन्ने आरोप लगाएका छन् । यसमा के भन्नुहुन्छ ?
सरकारले बेलाबेला नियमन गर्ने, बदमासी गर्नेहरुलाई कानुनी दायरामा ल्याउने कार्य गर्दै आइरहेको सबैलाई थाहै छ । तर यसपटक सरकारको कामकारवाही अलि फरक देखियो । प्रहरी प्रशासनबाट ठूलो संख्यामा व्यवसायीमाथि धरपकड र पक्राउ गर्ने काम भयो । यसले शैक्षिक परामर्श क्षेत्रमा हलचल नै ल्यायो ।

धरपकड र पक्राउको कुरा आइसकेपछि दुई दिनभित्रमा इक्यानले सम्बन्धित प्रहरी अधिकारी र शिक्षा मन्त्रालयका प्रतिनिधिलाई सहभागि गराएर कार्यक्रम गर्यौं र अनावश्यक रुपमा फैलाइएका भ्रमलाई चिर्ने काम गर्यौं, उहाँहरुलाई शैक्षिक परामर्श क्षेत्रको वास्तविकता दर्शाएर सबै व्यवसायीलाई एउटै डालोमा हालेर व्यवहार नगर्न आग्रह गर्यौं । यही कुरा लुम्बिनी प्रदेशमा मान्यता नदिएको विषयमा पनि त्यहाँका सिडिओ, एसएसपीलाई राखेर संस्थागत रूपमा बोल्यौं । कोशीमा मुख्यमन्त्रीसँग छलफल गर्यौं । अन्य प्रदेशमा पनि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । हामी निरन्तर व्यवसायी र व्यवसायको हितका निम्ति पहल गरिराखेका छौं ।

 

सरकारले लाइसेन्स नलिई सडकमा गाडी चलाउन नमिले झैं अनुमतिबिना व्यवसाय गर्न मिल्दैन भनिरहेको छ । यसमा के भन्नुहुन्छ ?
यही नै मुख्य कुरा हो । यो नियम–कानुन नै नबनेको अवस्थामा सुरु भएको पेशा व्यवसाय हो । हामीले सरकारसँग आफ्नो लागि आफैले कानुन माग गरेका हौं । सरकारले आन्तरिक रुपमा पनि ‘ठीकै छ, चलाउँदै गर्नु, अनुमतिको लागि प्रोसेसमा पनि जाँदै गर्नुहोला ।’ भनेको थियो । यस्तो अवस्थामा सरकारले एक्कासी कानुनी डण्डा बर्षाउनु अघि सबैलाई नियममा आउन आह्वान गर्नुपर्यो, दर्ता प्रक्रियामा सामेल हुने अवसर दिनुपर्यो । त्यो संस्था स्वीकृति प्राप्त गर्न योग्य छ कि छैन हेर्नुपर्यो । सरकारले दिएको अवसरलाई प्रयोग नगरी विना अनुमति कसैले संस्था संचालन गर्छ भने बल्ल कारबाही गर्नुपर्यो । व्यवसायीलाई मौका नै नदिई चौकीमा लगेर थुन्नु भन्दा दर्ता प्रक्रियामा सामेल गराउनु बढी श्रेयष्कर हुन्छ ।

तपाईंहरुमाथि गलत गर्नेलाई ढाकछोप गर्नुहुन्छ भन्ने आरोप पनि छ । यसमा के भन्नुहुन्छ ?

यो आरोप गलत छ । इक्यानको आफ्नै कोड अफ कन्डक्ट छ । हाम्रा सदस्यले गलत गरे भने पनि हामीले कारबाही गरेका छौं । विद्यार्थीको हितको लागि वदमासि गर्नेहरुलाई हर्जना तिराएका छौं । बाहिरका व्यक्तिले भ्रामक समाचार वा भिडियो बनाउँदा पनि कानुनी प्रक्रियाको लागि सम्बन्धित निकायलाई सिफारिस गरेका छौं । शिक्षा मन्त्रालयमा हरेक महिना कारबाहीको माग गर्दै इक्यानका पत्रहरू गइरहेका छन् । तसर्थ गल्ती गर्नेलाई कारवाही हुनुपर्छ भन्नेमा इक्यान प्रष्ट छ । यसमा नजिक वा टाढा भन्ने हुँदैन । जसको गल्ती भेटिन्छ उसलाई कारवाहीको दायरामा ल्याउने कुरा कसरी ढाकछोपको विषय बन्न सक्छ र ?

सरकारले जानाजान शैक्षिक परामर्श क्षेत्रलाई कमजोर बनाउन खोज्यो भन्ने तपाईंको आशंका हो ?

लाग्छ कहिलेकाहीं । किनभने आजको मन्त्रीपरिषदमा प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म ५० प्रतिशतभन्दा बढी विदेशमा पढेर आउनुभएको छ । यो इन्डस्ट्रीको सवल र दुर्वल पक्षमा उहाँहरु जनकार हुनुहुन्छ । यस क्षेत्रले सिर्जना गरेको रोजगारी, रेमिट्यान्स आप्रवहामा खेलेको भूमिका, राज्यलाई तिरेको कर र शैक्षिक एवं वौद्धिक जनशक्ति उत्पादनमा पुर्याएको योगदानलाई विर्सनुहुन्छ र कमजोरी केलाएर अठ्याउने काम गर्नुहुन्छ । कमजोरी खोतल्दै हिड्नु समाधान होइन, गलत गर्नेलाई कारबाही गर्नुपर्छ, सबैलाई एउटै डालोमा हाल्नु हुँदैन ।

विदेशमै अध्ययन गरेर आउनुभएका सस्मित पोखरेल शिक्षा मन्त्री हुनुहुन्छ । उहाँलाई कति चोटि भेट्नुभयो ? परामर्श क्षेत्रको समस्या पनि राख्नुभयो होला ?-

हाम्रो चाहाना यो क्षेत्र बुझेको मान्छे शिक्षामन्त्री भए राम्रो हुन्थ्यो भन्ने थियो । शिक्षामन्त्री विदेशमै अध्ययन गरेर आउनुभएको व्यक्ति बन्नुभयो । उहाँले शैक्षिक परामर्श क्षेत्रको वास्तविता बुझेर नीति नियम ल्याउनुहुन्छ भन्नेमा हामी आशावादी नै छौं । माननीय मन्त्रीज्यूलाई अनौपचारिक रूपमा भेटिए पनि औपचारिक रुपमा भेट्ने अवसर मिलेको छैन ।

धरौटीलगायतका विषयमा आउन लागेको नियमावलीका सन्दर्भमा इक्यान स्टेकहोल्डर भएका कारण अबश्य पनि छलफलका लागि बोलाउनुहुन्छ भन्ने विश्वास छ । यत्रो इन्डस्ट्रीका स्टेकहोल्डरलाई छलफलको टेबलमा नराखी नीति बनाउनुलाई उचित मान्न सकिन्न । यद्यपी नियमावली आउँदा शैक्षिक परामर्श क्षेत्र, विद्यार्थी वा सेवाग्राहीको लागि सपोर्ट हुने गरेर आउँछ भन्नेमा हामी विश्वस्त छौँ ।

ईक्यानले सधैं हामी नेपाललाई पनि शैक्षिक हब बनाउँछौ भन्दै आएको छ । यसमा तपाईं कत्तिको प्रयासरत हुनुहुन्छ ?

तपाईंको प्रश्नले आज अलिकति गर्व गर्ने ठाउँमा पुर्याएको छ, किनभने इक्यानले दशौं वर्षदेखि ‘नेपाललाई स्टडी डेस्टिनेसन’ बनाउन उठाइरहेको कुरालाई सरकारको बजेट भाषण र नीति तथा कार्यक्रममा ‘स्टडी इन नेपाल’ भनेर आउन थालेको छ । त्यो हाम्रो उपलब्धि नै हो । हामीले कति लक्ष्य पुरा गर्न सक्छौ सक्दैनौं पछि समिक्षा गरौंला तर नेपाललाई शैक्षिक हब बनाउने कुरालाई सरकारले अनुसरण गरेकोमा खुसी नै हुनुपर्छ ।

अर्को कुरा सरकारले शैक्षिक परामर्श व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय ग्राउन्डमा खेल्न सक्ने वातावरण बनाइदिनुपर्छ । जसरी हामीले नेपाली विद्यार्थीलाई विदेश पठाउने वातावरण बनाएका छौं, त्यसरी नै विदेशी विद्यार्थीलाई नेपाल ल्याउने काम गर्न सकिन्छ । त्यसका लागि इक्यानले छिट्टै दुई ‘ग्लोबल एजुकेशन समिट’को आयोजना गर्दैछ । अन्तर्राष्ट्रिय र नेपाली विश्वविद्यालय÷कजेजलाई एउटै छातामुनि राखेर कोल्याबरेशनको काम गराइदिने, मैत्री सम्बन्ध गास्ने, सिस्टरहुड रिलेसन कायम गराउने गरी तयारी भइरहेको छ । तसर्थ नेपाललाई स्टडी डेस्टिनेसन बनाउन सरकारले सहजीकरण गर्दै सरल नीति अवलम्बन गर्ने हो भने त्यो दिन टाढा छैन ।

तपाईँहरूले भर्खरै मात्र एउटा प्रोभाइडर मिट्स भन्ने कार्यक्रम आयोजना गर्नुभयो । यसले दिन खोजेको सन्देश के थियो ?

एक सय भन्दा बढी विदेशी विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुले नेपालमा बसेर काम गरिरहनुभएको छ । उहाँहरुलाई परामर्श क्षेत्रमा कहीँकतै उत्तरदायी बनाउनुपर्छ भन्ने उदेश्यले ‘प्रोभाइडर मिट्स’ नाम दिएर कार्यक्रम गरेका हौं । उहाँहरुलाई तपाईँहरू पनि यो इन्डस्ट्रीको रेस्पोन्सिबल पर्सन हो, इथिकल प्राक्टिस गर्नुहोस र व्यवसायलाई दिगो बनाउन मद्धत पुर्याउनुहोस् भन्ने हाम्रो आग्रह हो ।

प्रोभाइडरहरूलाई इन्डस्ट्रीमा कस्ता व्यवसायीसँग काम गर्ने ? व्यवसाय संचालन गर्नेले सरकारबाट अनुमति लिएको छ छैन हेर्ने । कसरी इथिकल काम गर्न लगाउने, आफु कसरी केयरफुल हुने भन्ने विषयमा इक्यानले एउटा ट्रिट दिएको हो । यो भेला गल्ती गर्नेलाई ईक्यानले कारबाहीबाट उन्मुक्ति दिंदैन भन्ने सन्देश दिन पनि आयोजना गरिएको हो ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...