कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले
Thursday Jun 11, 2026
वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९
आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण रूपमा नियमसंगत ढंगले सच्याइएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले स्पष्ट पारेका छन्। कर्मचारी संयन्त्रबाट भएको मानवीय गल्तीको जिम्मेवारी आफूले लिने बताउँदै उनले यस विषयलाई लिएर बजारमा फैलाइएका अनावश्यक भ्रम र हल्लाका पछि नलाग्न संसद्को सार्वजनिक लेखा समिति बैठकमा आग्रह गरे।
विधेयक संसद् र सांसदहरूको हातमा पुगिसकेपछि त्यसमा एउटा सानो चिह्न वा अक्षर समेत फेरबदल नगरिएको दाबी गर्दै उनले केवल अफवाहका भरमा आफ्नो दशकौँदेखिको निष्कलंक छविलाई धमिल्याउने दुष्प्रयास भइरहेको भन्दै खेद समेत प्रकट गरे।
यही जेठ १५ गते बजेट प्रस्तुत गरेलगत्तै संसद्मा आर्थिक विधेयक टेबल गरिएको पृष्ठभूमि उल्लेख गर्दै अर्थमन्त्रीले निरन्तरको थकाइ र दबाबका बीच बिहानसम्म काम गर्दा कर्मचारीहरूबाट केही प्राविधिक कमजोरी हुन गएको जानकारी दिए। उनका अनुसार बजेट भाषणपछि केवल एउटा भन्सार दर, एउटा शुल्क र केही अस्पष्ट बुँदाहरूमा मात्र सुधार गरिएको हो।
विगतका वर्षहरूमा ठूलो संख्यामा भन्सार दरहरू परिमार्जन हुने गरेको नजिर सम्झाउँदै उनले यस पटक जनहित र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर मात्र संसद् सचिवालयका महासचिवलाई विधिसम्मत पत्र पठाई प्रक्रियागत रूपमा आवश्यक सुधार गरिएको प्रष्ट पारे।
भन्सार दर संशोधनका विषयमा स्पष्ट पार्दै उनले स्वास्थ्यकर्मीहरूको माग र मानवीय संवेदनशीलतालाई मध्यनजर गरी जीवनरक्षक खोप (भ्याक्सिन) र रगत ओसार्ने क्यारिअरको भन्सार महसुल ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गर्न खोजिएको बताए। तर, वर्गीकरणका क्रममा प्राविधिक गल्तीले प्लास्टिकजन्य सुटकेसको सिंगो समूह नै १५ प्रतिशतमा पर्न गएपछि त्यसलाई तत्कालै सच्याएर पूर्ववत् ३० प्रतिशत नै कायम गरिएको उनले जानकारी दिए।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको जनचाहना अनुकूलको नीति अनुसार ५० लाख रुपैयाँसम्मका विद्युतीय सवारी साधन (इभी) लाई सर्वसुलभ बनाउन सडक विकास शुल्क घटाउने निर्णय भएको तर हतारमा कानूनको मस्यौदा तयार पार्दा उक्त व्यवस्था छुट्न गएकाले त्यसलाई द्रस्टव्य (फुटनोट) मार्फत विधिसम्मत तरिकाले समावेश गरिएको उनले स्पष्ट पारे। शिक्षा क्षेत्रमा गरिएको खर्चलाई कर कट्टि गर्ने विषय पनि छुटेकाले पछि थप गरिएको उनको भनाइ थियो।
यो सम्पूर्ण प्रक्रिया पारदर्शी र संस्थागत निर्णयका आधारमा भएको उल्लेख गर्दै अर्थमन्त्री डा। वाग्लेले आफूले कुनै पनि करका दरहरू गोप्य रूपमा हेरफेर नगरेको दृढता व्यक्त गरे। कर्मचारीको तर्फबाट भएको कमजोरीको राजनीतिक नेतृत्वका नाताले आफूले स्वामित्व लिएको भन्दै उनले संसद्लाई पूर्वजानकारी गराएरै सच्याइएको पाना वितरण गरिएको स्पष्ट पारे।
संसद्को परिधिभित्र रहेर गरिएका यस्ता प्रशासनिक सुधारका कार्यलाई ‘देशद्रोह वा राजद्रोह’ को रूपमा चित्रण गरिनु अत्यन्तै दुःखद भएको भन्दै उनले साना प्राविधिक कुरालाई अतिरञ्जित बनाएर राजनीतिक स्वार्थ साध्ने र छवि धुमिल्याउन खोज्ने प्रवृत्तिप्रति गम्भीर असहमति प्रकट गरे।

























