एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न
Saturday Jun 13, 2026
वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३
काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा २०८३ साल जेठ ३० गते (तदनुसार १२ जुन, २०२६) सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १२, चतरा लाइनस्थित गोर्खा होटलमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका प्रमुख सूचना अधिकृत गणेश घिमिरेका अनुसार उक्त साधारण सभाले विभिन्न महत्त्वपूर्ण एजेन्डाहरू पारित गरेको छ। सभाले संस्थाको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण अन्तर्गत २०८२ असार मसान्तको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत सर्वसम्मतिले पारित गरेको छ।
साधारण सभाको अवसरमा प्रचलित कानुन तथा विद्यमान व्यवस्था अनुसार सञ्चालक समितिको निर्वाचन कार्यक्रम समेत सम्पन्न भएको छ। निर्वाचन प्रक्रियाबाट संस्थापक समूहका तर्फबाट एनआईसी एसिया बैंक लिमिटेडद्वारा मनोनित भई प्रतिनिधित्व गर्नुभएका श्री लक्ष्मण चालिसे, श्री विभोर कुमार अग्रवाल, श्री दिपेन्द्र शर्मा र श्री पुष्कर राज जोशी निर्विरोध सञ्चालक पदमा निर्वाचित हुनुभएको छ। यसै गरी, सर्वसाधारण समूहका तर्फबाट श्री बलराम पौडेल र मिलन सिग्देल पनि निर्विरोध सञ्चालक पदमा निर्वाचित हुनुभएको छ।
साधारण सभा सम्पन्न भए लगत्तै नवनिर्वाचित सञ्चालक समितिको बैठक बसेको थियो। उक्त बैठकले नवनिर्वाचित सञ्चालक श्री लक्ष्मण चालिसेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ। नवनिर्वाचित सञ्चालकहरूको उच्च व्यावसायिक कार्यअनुभव र सबल नेतृत्वबाट संस्थाले लिएका व्यावसायिक लक्ष्यहरू हासिल गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ। साथै, नयाँ कार्यसमितिको कुशल मार्गनिर्देशनले यस संस्थालाई मुलुकका लघुवित्त वित्तीय संस्थाहरूमाझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रूपमा स्थापित गराउन अझ बढी सहयोग पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ।

























