चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज पोखरा आधिकारिक डिलर नियुक्त
Saturday Jul 11, 2026
वि.सं.२०८३ असार २७ शनिवार १२:३२
काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रा.लि.ले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ। कम्पनीले अटोवेज पोखरा प्रा.लि.लाई आधिकारिक डिलर नियुक्त गर्दै नारायणगढमा अत्याधुनिक ३एस (बिक्री, मर्मत तथा स्पेयर पार्ट्स) सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार नयाँ केन्द्रबाट ग्राहकहरूले टोयोटाका सवारीसाधन खरिद, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मर्मत सेवा तथा जेन्युइन स्पेयर पार्ट्स एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यस सुविधाबाट चितवन, नवलपुर, मकवानपुर तथा आसपासका जिल्लाका ग्राहक लाभान्वित हुने अपेक्षा गरिएको छ।
शोरुम उद्घाटन कार्यक्रममा अटोवेज पोखरा प्रा.लि.का अध्यक्ष नारायणप्रसाद पौडेलले ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुभयो। सन् २०११ मा भरतपुरबाट व्यावसायिक यात्रा सुरु गरेको अटोवेजले विगत १५ वर्षमा ग्राहकसँग बलियो सम्बन्ध स्थापित गर्न सफल भएको उल्लेख गर्दै उहाँले नयाँ ३एस केन्द्रमार्फत उत्कृष्ट स्वामित्व अनुभव र प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो।
उहाँले उद्योग, यातायात र कृषि क्षेत्रको तीव्र विकाससँगै चितवन देशकै सम्भावनायुक्त अटोमोबाइल बजारमध्ये एक बनेको उल्लेख गर्दै विश्वस्तरीय सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको धारणा राख्नुभयो।
कार्यक्रममा वैद्यज् अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेज (भ्वोइथ) तथा युनाइटेड ट्रेडर्स सिन्डिकेटका अध्यक्ष सुरज वैद्यले टोयोटाको सेवा विस्तार ग्राहकप्रतिको दीर्घकालीन प्रतिबद्धताको निरन्तरता भएको बताउनुभयो।
उहाँले गुणस्तर, सुरक्षा, टिकाउपन र विश्वासका कारण टोयोटाले विश्वव्यापी पहिचान बनाएको उल्लेख गर्दै चितवनमा सञ्चालनमा आएको अत्याधुनिक ३एस सुविधाले स्थानीय ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको बिक्री तथा बिक्रीपछिको सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।
उद्योग, व्यापार, पर्यटन, यातायात तथा कृषि क्षेत्रको विस्तारसँगै चितवन प्रमुख आर्थिक केन्द्रका रूपमा विकसित भइरहेका बेला टोयोटाको नयाँ ३एस सुविधा सञ्चालनमा आउनुले स्थानीय ग्राहकलाई सहज सेवा उपलब्ध गराउनुका साथै यस क्षेत्रको अटोमोबाइल बजारलाई थप व्यावसायिक र गतिशील बनाउने अपेक्षा गरिएको छ।























