सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न
Tuesday Jul 14, 2026
वि.सं.२०८३ असार ३० मंगलवार ११:५७
दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग तथा सहजिकरणमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत २०८३ वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला तथा दुहुँ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो। शिविरमा गरिएको परीक्षणका क्रममा ११ जनालाई मोतियाविन्दुको शल्यक्रिया आवश्यक रहेको पहिचान गरिएको थियो।
तीमध्ये नौ जनाको डडेलधुरास्थित गेटा आँखा अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरिएको बैंकले जनाएको छ। शल्यक्रियाका लागि सबै ११ जनालाई अस्पताल पुर्याइए पनि दुई जनाको स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया गर्न सम्भव नभएको उल्लेख गरिएको छ।
यसअघि सञ्चालन गरिएका दुवै आँखा शिविरमार्फत सात सयभन्दा बढी नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको थियो। साथै, ४८७ जनालाई निःशुल्क चश्मा र ६०० जनालाई आवश्यक औषधि वितरण गरिएको बैंकले जानकारी दिएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउँदै सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।























