हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू
Friday Jul 17, 2026
वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९
काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल वा ई–सिम) को सट्टा नयाँ सिम प्राप्त गर्न अनलाइनमार्फत आवेदन दिने सुविधा सञ्चालनमा ल्याएको छ। कम्पनीले शुक्रबारदेखि उक्त सेवा औपचारिक रूपमा सुरु गरेको जनाएको छ।
नेपाल टेलिकमका अनुसार सेवाग्राहीले कम्पनीको अनलाइन पोर्टलमा लगइन गरी ‘Apply for Lost/Damaged SIM’ विकल्पमार्फत आवश्यक विवरण भरेर नयाँ फिजिकल सिम वा ई–सिमका लागि आवेदन दिन सक्नेछन्।
आवेदन प्रक्रिया पूरा गरेपछि ग्राहक स्वयं वा तोकिएको प्रतिनिधिमार्फत सम्बन्धित सेवा केन्द्रबाट सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। नयाँ सिम प्राप्त गर्दा लाग्ने ५० रुपैयाँ शुल्क सेवा केन्द्रमै बुझाउनुपर्नेछ। ग्राहक आफैं उपस्थित हुन नसके प्रतिनिधिको नाम आवेदनमै उल्लेख गर्नुपर्ने तथा प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ। कम्पनीले ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको स्पष्ट पारेको छ।
नेपाल टेलिकमले आफ्नो अनलाइन पोर्टलमार्फत हराएको वा बिग्रेको सिम प्रतिस्थापन सेवासँगै नयाँ प्रिपेड ई–सिम प्राप्त गर्ने, फिजिकल सिमलाई ई–सिममा रूपान्तरण गर्ने, नयाँ फिजिकल सिम लिने तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्ने सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्पनीका अनुसार यस सेवाले सिम प्रतिस्थापन प्रक्रियालाई थप सहज, छिटो र ग्राहकमैत्री बनाउने अपेक्षा गरिएको छ।























