साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता, एकमाथिको आक्रमण सबैमाथिको आक्रमण मानिने
Sunday Aug 09, 2026
वि.सं.२०८३ साउन २४ आइतवार ०८:४८
काठमाडौं । साउदी अरब, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता भएको छ। साउदी अरबको मक्कामा भएको त्रिपक्षीय शिखर बैठकका क्रममा तीन देशले **साझा सुरक्षा तथा सामूहिक प्रतिरक्षा बलियो बनाउनेसम्बन्धी ‘मक्का संयुक्त रक्षा सम्झौता’**मा हस्ताक्षर गरेका हुन्।
साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
साउदी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, सम्झौताको मुख्य उद्देश्य तीन देशबीचको सामूहिक प्रतिरोध क्षमता मजबुत बनाउनुका साथै क्षेत्रीय शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धन गर्नु हो।
सम्झौतामा तीनमध्ये कुनै एक देशमाथि भएको सशस्त्र आक्रमणलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइने उल्लेख गरिएको छ। साथै, तीन देशबीच रक्षा सहकार्यका सबै पक्षलाई थप सुदृढ बनाउने व्यवस्था गरिएको छ।
तीन देशबीचको ऐतिहासिक सम्बन्ध, इस्लामिक एकता, साझा रणनीतिक हित तथा लामो समयदेखिको रक्षा सहकार्यलाई आधार बनाएर सम्झौता गरिएको जनाइएको छ।
मक्कामा अगस्ट ७ मा भएको बैठकमा साउदी अरब, टर्की र पाकिस्तानबीचको सम्बन्ध तथा पारस्परिक हितका विभिन्न विषयमा समेत छलफल भएको थियो।
सम्झौताले तीन देशबीच सामूहिक सुरक्षा र रक्षा सहकार्यलाई संस्थागत रूपमा थप बलियो बनाउने अपेक्षा गरिएको छ। साथै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्ने प्रतिबद्धता पनि तीन देशले व्यक्त गरेका छन्।























