यस बर्ष आधा दर्जन कमेडी फिल्म
Sunday Aug 11, 2019
वि.सं.२०७६ साउन २६ आइतवार ०३:१३

काठमाडौं, साउन २६ । गत वर्ष प्रदर्शनमा आएका दुई दर्जन भन्दा बढी कमेडी जनराका फिल्महरुमा ‘छक्का पन्जा ३’ले मात्र कीर्तिमानको कारोबार गर्यो । कमेडी जनराका फिल्महरु कथाको प्रस्तुतिमा ध्यान दिइदैन । रोमाञ्चक शैलीमा कथा भन्न सक्ने हो भने कमेडी जनराका फिल्म सफल हुनेमा दुई मत छैन । रजतपटमा फिल्म निर्माण युनिट कमेडी जनराको फलोअपमा छन् । फिल्ममा कमेडी बिक्नुको कारण खोजी गर्न ध्यान दिन सकेका छैनन् ।
कमेडी जनराका फिल्महरुले रजतपटमा प्रभाव जमाउनुको कारण दीपकराज गिरी र उनका समूह हो । टेलिसिरियल तितो सत्यबाट आफ्नो शैली र परिवेशमा दर्शकलाई हुर्काउँदै आएका दीपकराज गिरी समूहको फिल्म चल्नुको कारण मनोरञ्जन र निर्माण समूह नै हो । दीपकराज गिरी टिमको ब्राण्ड र उनीहरुले पस्किने शैलीलाई दर्शकले तितो सत्यदेखि हेरिँदै आएको कारण रुचाईरहेका छन् । तर यसको भविष्य पनि अन्यौल छ । यो टिमले पनि मौलीक विषयवस्तुलाई नेपाली समाजको ढाँचामा लगेर मनोरञ्जनात्मक शैलीले प्रस्तुत गर्ने जमर्को गर्नुपर्छ र गर्ने अभ्यास गरिरहेका छन् ।

नियमित प्रस्तुती र प्रहशनले दर्शक सदैव हसाँई राख्न सक्ने ग्यारेन्टी हुँदैन । त्यसैले पनि दीपकराज समूह यसमा सचेत हुदै हाँस्य शैलीमै समाजिक खुराकलाई पस्किने तयारीमा लागिपरेका छन् । साँचो अर्थमा भन्ने हो भने दीपकराज गिरी समूहकै फिल्मले मात्रै व्यवासायिक सफलता पाईरहेको अवस्था छ अहिले । तर, दीपक राज गिरीको समूहलाई पनि प्रदर्शनको सुरक्षित मिति पाउन धौ धौ परिरहेको ‘छ माया छपक्कै’को प्रदर्शन मितिको अन्योलताले त्यो प्रष्ट पार्छ । दशैंमै अशोक शर्माको कमेडी जनराको रातो टिका निधारमा पनि रिलिज हुदैछ । त्यस्तै निर्देशक रामबाबु गुरुङको ‘कबड्डी कबड्डी कबड्डी’ दशैं अघि नै रिलिज हुने तयारीमा छ ।
कमेडी फिल्म चलेको भन्दा पनि दीपकराज गिरी समूहको फिल्म चलेको हो । किनकी दर्जनौं कमेडी फिल्मले पानी पनि माग्न नपाउका उदाहरण रजतपटमा रहेको छ । दीपकराज गिरी समूहकै केदार घिमिरे ‘माग्नेबुढा’ र जितु नेपाल ‘मुन्द्रे’ अभिनित रामकहानी पनि सोचेजस्तो चल्न सकेन । रामकहानी लगायत कमेडी जनरामा निर्माण भएका फिल्महरुले हल मात्रै देख्न पाए, व्यापार बुझ्न पाएनन् । कबड्डी चल्यो भन्दैमा साइँली पनि त्यहि ढाँचामै बनाउने, छक्का पञ्जालाई हेरेर सय कडा दश जस्तो फिल्म बनाउने शैली रजतपटमा हावि हुँदै गइरहेको छ । कमेडी जनराकै भएपनि कथाको प्रस्तुति फितलो हुँदा फिल्म ‘दाल भात तरकारी’ले हलमा हावा खानु परेको थियो । कथावाचन बलियो हुदाँ कमेडी जनराको फिल्म ‘जात्रै जात्रा’ले दर्शक तथा समीक्षकको मन जितेको थियो ।
नयाँ नयाँ घोषणा भइरहेका फिल्महरुमा निर्माताले आफ्नो अनुभव निर्देशनमा लगाउँदैछन् । ती फिल्महरु पनि कमेडी जनराबाट प्रेरित नहोलान् भन्न सकिदैन । यो वर्ष कमेडी जनरामा तयार हुँदै गरेको फिल्महरु आउनेछन् । कमेडी जनरामा बन्ने फिल्म ‘माछा माछा’ले फ्लोरमा जानु अगावै प्रदर्शनको मिति तय गर्यो । उक्त फिल्म कार्तिक २९ बाट प्रदर्शनमा आउने भएको छ । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागि परेको संघर्षको कथामा निर्माणधिन फिल्ममा सौगात मल्ल, विजय बराल र अनोज पाण्डेको मुख्य भूमिका रहेको छ । सुनिल गुरुङको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायाँकन रहनेछ ।
कमेडी जनराको अर्को फिल्म ‘डामाडोल’ पनि फ्लोरमा जान सकिरहेको छैन । फिल्म ‘दुई रुपैँया’ टिमको कलाकार रहने फिल्म साउन अन्तिममा प्रदर्शनमा आउने तय गरिएको थियो । तर साउन कट्नै लाग्दा फिल्म फ्लोरमा जान सकेको छैन । निश्चल वस्नेतले निर्देशन गर्ने भनिए पनि हाल फिल्मलाई हेमराज विसीले निर्देशन गर्ने चर्चा चलिरहेको छ ।
कमेडी जनरामा निर्माण हुन लागेको अर्को फिल्म हो ‘दिमाग खराब’ निश्चल बस्नेतले नै निर्देशन गर्ने भनिएको फिल्मलाई निर्देशक सिमोस सुनवारले निर्देशन गर्ने चर्चा चलिरेहेको छ । फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको पनि अभिनय रहने सम्भावना छ ।
कमेडी जनरामा निर्माणधिन अर्को फिल्म हो ‘बकम्फुसे राजा’ । फिल्ममा दयाहाङ राई, वर्षा राउत, नीता ढुंगानालगायतका कलाकारहरुको अभिनय रहने हल्ला थियो । फिल्मको लािग वर्षा सिवाकोटी लाई पनि अफर गरिएको थियो तर अन्तिम समयमा आएर उनले फिल्ममा काम नगर्ने बताएकी थिइन् । फिल्ममा प्रकाश सुवेदीको निर्देशन रहने छ । तर, १ बर्ष बित्नै लाग्दा पनि फिल्म फ्लोरमा जान सकेको छैन ।
कमेडी जनरामा हेमराज वीसीको निर्देशनमा फिल्म ‘घामड शेरे’ पनि बन्ने तयारीमा छ । फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्का रंगमञ्चका केही कलाकारहरु देखिदैछन् । कमेडी जनरामा निर्माणधिन अर्को फिल्म हो ‘लक्का जवान’ हाँस्यकलाकार शिवहरि पौडेलको निर्देशन रहने फिल्ममा शिवहरिको साथमा किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारको पनि अभिनय रहने छ ।
कमेडी कथामा निर्माणधिन फिल्म हो ‘सेन्टी भाइरस’ । रामबाबु गुरुङले निर्देशन गर्ने फिल्ममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)सँगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय रहनेछ ।
कमेडी जनरामा बन्ने अर्को फिल्म हो ‘फनफनी’ । फिल्मको स्क्रिप्ट तयार भए पनि निर्देशकको खोजीमा निर्माण टिम फनफनी घुमिरहेका छन् । यो फिल्म हास्य टेलिसिरियल भद्रगोल टिमको फिल्म हो । यस वर्ष निर्माधिन फिल्महरु बलियो ब्यानरका रहेका छन् । आफैमा ब्राण्ड बनिसकेका कलाकार, लेखक कमेडी कथामा आकर्षित भएका छन् । एकाध कमेडी फिल्महरु मात्र सफल भइरहेको अवस्थामा निर्माणधिन फिल्महरुको बक्स अफि कलेक्शन राम्रो हुने अपेक्षा गर्न सकिन्छ । तर नतिजा भन्ने कुर्नै पर्ने हुन्छ ।























