नेवानिको २७४ सिटे वाइड-बडी ८५ यात्रु बोकेर जापान उड्यो,१२ वर्ष पछी यसरी भयो उडान शुरु
Thursday Aug 29, 2019
वि.सं.२०७६ भदौ १२ बिहीवार ०५:१९

काठमाडौं, १२भदौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १२ वर्षपछि फेरि जापान उडान सुरु गरेको छ। निगमले पहिलोपटक काठमाडौंबाट सिधा जापान उडान सुरु गरेको हो। युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०-२००’ सिरिजको जहाजबाट निगमले बिहीबार बिहान साढे २ बजे जापानको ओशाकाका लागि पहिलो उडान गरेको हो।
निगमका उपमहाप्रबन्धक तथा प्रवक्ता गणेशबहादुर चन्दका अनुसार पहिलो उडानमा ८५ यात्रु तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढासहित सरकारी कर्मचारी, व्यवसायी गरी थप ४९ जना पनि सहभागी छन्। जापानबाट यता आउन भने ७० यात्रुले टिकट खरिद गरेका छन्।
आज (बिहीबार) बिहान २ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमका वरिष्ठ क्याप्टेनहरू महेश्वरमान डङ्गोल र श्रवण रिजालले पहिलो उडान लिएर जापान गएका छन्। उताबाट फर्किंदा भने क्याप्टेन विजय लामा र इयान ग्राहम डेभिसले जहाज लिएर आउनेछन्।
निगमका अनुसार आगामी एक महिनासम्म ओशाकाका लागि एकतर्फी प्रतियात्रु ३७ हजार र दुईतर्फी ७२ हजार ८ सय १४ रुपैयाँ प्रवद्र्धनात्मक भाडा दर तोकिएको छ। ओशाका लागि प्रत्येक मंगलबार, बिहीबार र शनिबार नियमित उडान हुने तालिका निगमले बनाएको छ। काठमाडौंबाट ओशाकासम्म साढे ६ घण्टा र उताबाट फर्किंदा साढे ७ घण्टा ‘नन्स्टप’ उडान हुने गर्छ।
निगमले सिधा जापान उडान गरेको भने यो पहिलोपटक हो। यसअघि सन् १९९४ बाट २००७ सम्म निगमले १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७-२००’ जहाजबाट चीनको साङ्घाइ हुँदै ओशाका उडान गरेको थियो।























