क्वारेन्टाइनमै डाक्टरहरूबीच कुटाकुट
Tuesday May 26, 2020
वि.सं.२०७७ जेठ १३ मंगलवार १८:४१

वीरगञ्जमा-वीरगञ्जमा सामाजिक सञ्जालमा स्टाटस र म्यासेज लेखेको विषयमा डाक्टरका दुई समूहबीच कुटाकुट भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो ।
नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउनहल क्वारेन्टाइन स्थलमै सिंह नेतृत्वको टोलीले विवाद गर्न पुगेका थिए । विवादको क्रममा सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते भएका छन ।
नारायणी अस्पतालका डा. दयनारायण सिंहका अनुसार ‘क्वारेन्टाइन स्थलमा झडपको स्थिति सिर्जना भएपछि प्रहरी, सिनियर चिकित्सक र अस्पताल प्रमुख पुगेर विवादलाई साम्य पारिएको छ । ह्वाट्स एप ग्रुपमा भएको कुराकानीको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमा सरकारी अस्पतालले प्रभावकारी काम गर्दैन, त्यहाँ कार्यरत सबै डाक्टहहरु फटाह हुन्छन्, मेसिनले पनि राम्रोसँग काम गर्दैन भनेर लेखेपछि दुई समुहबिच कुटाकुट भएको हो ।
यसैबीच नेपाल चिकित्सक संघ वीरगञ्जले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको महामारीसँग लड्न अग्रपंक्तिमा रही व्यस्त रहेको समयमा जुनियर चिकित्सकहरुबीच विवाद गर्नु उचित होइन । त्यसैले दुवै पक्षलाई मेलमिलाप गराइसकेका छौं ।’






















