रुकुम पश्चिम हत्या प्रकरण : २० जनाविरुद्ध किटानी जाहेरी, वडाध्यक्षसहित १२ जना नियन्त्रणमा
Wednesday May 27, 2020
वि.सं.२०७७ जेठ १४ बुधवार ०९:४१
जाजरकोट – शनिबार रुकुम ‘पश्चिम’को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।
दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्नेलगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका हुन् । चौरजहारी–८ का टीकाराम सुनारको शव परीक्षण गरिएको छ भने अन्य दुई जनाको आज परीक्षण गरिने प्रजिअ पन्तले बताए । हराएका तीन जनाको खोजीकार्य भइरहेको जनाइएको छ । खोजीकार्यमा स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु संलग्न छन् । गोताखोरलगायत प्राविधिक स्रोत साधन नहुँदा बेपत्ताको खोजीमा समस्या भएको जिल्ला प्रहरी प्रमुख प्रनाउ श्रेष्ठले बताए।
घटनाको अनुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकालाई खटाएको छ । वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उपरीक्षक श्रेष्ठले बताए । “हत्या हो या भागदौडमा मृत्यु भएको हो अहिले नै भन्न सकिन्न, अनुसन्धानपछि यथार्थ विस्तारै खुल्छ”, उनले भने, “शव परीक्षण रिपोर्टले पनि अनुसन्धानमा सहयोग पुग्ला ।” (नेपालबहसबाट)





















