बीमा समितिमा हाकिम चापागाईमाथि २ अर्ब घोटलाको आरोप
Monday Oct 05, 2020
वि.सं.२०७७ असोज १९ सोमवार १४:१३

बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंविरुद्ध अख्तियारमा उजुरी परेको छ । चापागाँईमाथि विभिन्न ९ वटा शीर्षकमा आर्थिक अनियमितता गरेको उजुरीसहित अख्तियारमा उजुरी परेको छ । चापागाँईमाथि कमिसन लिएर नयाँ कम्पनी दर्ता, स्थगतल अध्ययनको प्रतिवेदन लुकाएर लेनदेन गरेको, सम्पतीको दुरुपयोग गरेको, मन नपरेका कर्मचारीलाई जथाभावी बिभाग सरुवा गरेको, विज्ञापनमा पक्षपात गरेको जस्ता उजुरी परेका छन्।
जीवन बीमा, निर्जीबन बीमा कम्पनी दर्ता गर्दा, कम्पनीको स्थलगत निरीक्षण गर्दा, सवारी साधान गरिद गर्दा, अत्यधिक जिल्ला भ्रमण गर्दा, कोरोना बीमालेख जारी गर्दा, नीतिगत कार्य नगरी, समितिको विज्ञापन र कर्मचारीको सरुवा, बढुवा, आन्तरिक प्रणाली र संस्थागत सुशासन पालना गर्ने÷गराउने क्रममा आर्थिक हिनामिना गरी अधिकारको दुरुपयोग गरेको उल्लेख छ ।
अध्यक्ष चापागाईले संस्थागत सुशासन कायम गर्नुपर्नेमा उनले आफू नियुक्ति भए लगतै १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई इजाजतपत्र प्रदान गरी मनग्य कमिशन लिई भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
असोज ५ गते अख्तियारमा दर्ता भएको उजुरीमा चापागाईले १३ वटा नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा सय रुपैयाँ पर्ने प्रमोटर सेयरलाई ११५ रुपैयाँका दरले पैसा उठाएर झन्डै २ अर्ब घोटाला गरेको उल्लेख छ। १० वटा जीवन बीमा कम्पनीलाई इजाजत दिँन कम्पनी दर्ता गर्दा प्रतिसेयर १०० रुपैयाँ प्रमोटर सेयर हुनुपर्नेमा ११० र ११५ रुपैयाँसम्म उठाएको र ३ वटा निर्जीबन बीमा कम्पनीलाई इजाजत दिन कम्पनी दर्ता गर्दा प्रमोटर सेयर १०० रुपैयाँ हुनुपर्नेमा ११० र ११५ रुपैयाँ लिएर आर्थिक हिनामिना गरी मनग्य अवैध सम्पति आर्जन गरेको अख्तियारमा दायर गरिएको उजुरीमा उल्लेख छ ।
























