महान्यायाधिवक्ताज्यूबाट काठमाडौं स्थित तीनवटा कारागारको कार्यालयमा पुस्तक हस्तान्तरण
Friday Jan 08, 2021
वि.सं.२०७७ पुस २४ शुक्रवार २०:३५
![]()
काठमाडौं । माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले महान्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रम बीच काठमाडौं उपत्यकास्थित तीन वटा कारागार कार्यालयका प्रमुखहरूलाई कैदवन्दीलाई अध्ययन गर्ने प्रयोजनका लागि पुस्तक हस्तान्तरण गर्नुभएको छ ।
कारागार कार्यालय, डिल्लीबजार, काठमाडौं, कारागार कार्यालय, नख्खु, ललितपुर र कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंलार्इ ती कारागारमा रहेका कैदीवन्दीलाई अध्ययन गर्ने वातावरण सिर्जना गर्न पुस्तकालय प्रयोजनका लागि महान्यायाधिवक्ताको कार्यालयबाट रु १लाख १७ हजार मुल्य बराबरका पुस्तक प्रदान गरिएको हो ।
माननीय महान्यायाधिवक्ताज्यूले कारागार कार्यालय, डिल्लीबजारका जेलर श्री गणेश आचार्यज्यू, कारागार कार्यालय, नख्खुका जेलर श्री मोहन अधिकारीज्यू र कारागार कार्यालय, जगन्नाथदेवलका जेलर श्री लक्ष्मीप्रसाद बाँस्कोटाज्यूलार्इ कैदी बन्दीलाई अध्ययन गर्नका लागि पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।
माननीय महान्ययाधिवक्ताज्यूले कारागारमा रहेका कैदीवन्दीको मानव अधिकारको संरक्षण, कैदीवन्दीको मानवोचित व्यवहारको अवस्था र कारागारहरूको भौतिक सुधारका लागि महान्यायाधिवक्ताको कार्यालयबाट कारागार कार्यालयहरूको अनुगमन गरी सम्बन्धित निकायलार्इ निर्देशन दिने गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, कारागारमा कैदीलार्इ कानून बमोजिम दण्डित गरेर समाजमा पुर्नस्थापना हुन रूपान्तरण गर्न राखिने भएकाले कैदीवन्दीलाई अध्ययन गर्ने वातावरण सिर्जना गर्दा सकारात्मक प्रभाव पर्छ ।
माननीय महान्यायाधिवक्ताज्यूले कारागारमा रहेका कैदीवन्दीलाई सुध्रिने वातावरण तयार गर्न राज्यका सबै निकायहरू मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक श्री द्रोण पोखरेलज्यूले महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त पुस्तकहरूले कारागारमा रहेका कैदीवन्दीहरूलाई अध्ययन गर्ने वातावरण सिर्जना गरी कैदीवन्दीमा सकारात्मक परिवर्तन ल्याउनमा सहयोग पुग्ने बताउनुभयो ।
उहाँले महान्यायाधिवक्ताज्यू र मातहत सरकारी वकीलज्यूहरूबाट कारागार निरीक्षण गरी प्राप्त हुने प्रतिवेदनहरूमा उल्लेख भएका सुझावहरूको कार्यान्वयन कारागार कार्यालयहरूबाट साधन स्रोतको अधिकतम उपयोग गरी कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।
महान्यायाधिवक्ताको कार्यालयले संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा आठ वटा कारागारहरूका लागि नेपालको संविधान, ऐन नियमका पुस्तकहरू लगायत अन्य पठनीय सामाग्रीहरू खरिद गरी हस्तान्तरण गर्न लागेको हो ।
उक्त पुस्तक हस्तान्तरण कार्यक्रमको सञ्चालन सहायक न्यायाधिवक्ता श्री शिव वाग्लेले गर्नुभएको थियो ।

























