अमेरिकाको हार्डफोर्ड गोलीकाण्डमा एक नेपालीको मृत्यु, अर्का घाइते
Saturday Sep 22, 2018
वि.सं.२०७५ असोज ६ शनिवार ०७:१५

काठमाडौं । अमेरिकाको मेरिल्यान्डस्थित हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।
गत बिहीबार भएको घटनामा ४१ वर्षीया वृन्दा गिरीको मृत्यु भएको हो भने अर्का नेपाली पूर्ण आचार्य घाइते भएका हुन्।
घटनामा गिरीसहित अन्य तीनजनाले ज्यान गुमाएका छन्। तीनजना घाइते भएका छन्।
स्नोचीया मोसेली नामकी २६ वर्षीय महिलाले अन्धाधुन्ध गोली प्रहार गरी आफूमाथि पनि गोली चलाएको समाचारमा उल्लेख छ। हतियारधारी महिलाको पनि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सीएनएनले लेखेको छ।
बाल्टिमोर सन अनलाइनले नेपालकी वृन्दा गिरी दुई सान्तानकी आमा भएको लेखेको छ। उनी केही महिना अघिमात्र नेपालबाट त्यहाँ पुगेको समाचारमा उल्लेख छ। उनका श्रीमान काशिराम गिरी ६ वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका थिए र हालै श्रीमतीलाई अमेरिका लगेका थिए।
बाल्टिमोरकै शिक्षक ह्यारी भण्डारीलाई उद्धृत गर्दै गिरी १६ वर्षीय छोरी र ११ वर्षीय छोरासहित गत मे महिनामा अमेरिका गएको समाचारमा उल्लेख छ।




























