मध्य भोटेकोशीको आईपीओ भोलि बाँडफाँड हुने, भोली नै बुद्धभूमि हाइड्रोपावरको आईपीओ निष्काशन हुने
Sunday Sep 26, 2021
वि.सं.२०७८ असोज १० आइतवार १८:५८
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको पहिलो चरणमा निष्कासन गरेको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दा र जिल्लाका अन्य क्षेत्र बासिन्दाका लागि गत साउन ५ गतेदेखि साउन ३२ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँड हुने भएको हो। बिक्री प्रबन्धकका ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ भोलि बिहान ९ बजे बाँडफाँड हुनेछ।
कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको थियो। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाकै अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियो।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १ लाख १ हजार २८ जना आवेदकबाट १ करोड ९३ लाख २५ हजार ७८० कित्ताका लागि आवेदन दिएका छन्। जसअनुसार यो आईपीओमा ३.२२ गुणाले ओभरसब्सक्राइडब्स भएको छ।
त्यस्तै भोलीनै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले असोज ११ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कुल निष्कासन गरिने कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिको तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ। बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसारणले आवेदन दिन सक्नेछन्।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
बुद्धिभूमि नेपालको आईपीओ निष्कासन बन्द छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गते बैंकिङ समयपछि हुनेछ।
धितोपत्र बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।
यसअघि यो कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।
यो कम्पनीले नुवाकोट जिल्लामा ४.९९३ मेगावाट क्षमताको तल्लो टाँडीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २३.८ करोड रुपैयाँ रहेको छ। यो कम्पनीको लगानी फिर्ता हुने अवधि ९पे ब्याक पिरियड० ५.४९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.५८ वर्ष रहेको छ।

























