नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई निक्षेप संकलन गर्न रोक
Thursday Nov 25, 2021
वि.सं.२०७८ मंसिर ९ बिहीवार ०९:००
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको व्याज घटाएर एकल अंकमा झार्ने योजना सुनाएका छन् । साना किसान तथा लगानीकर्तालाई सस्तो व्याजमा पुँजी उपलब्ध गराउन लघुवित्तको व्याजदर एकल अंकमा झार्नुपर्ने मन्त्री शर्माको भनाई छ ।
बुधबार अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८र०७९ को प्रथम प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
मन्त्री शर्माले लघुवित्त संस्थाहरुको व्याज एकल अंकमा झार्ने बताएपनि कसरी सो कार्य सम्भव हुन्छ भन्ने बारेमा केही खुलाएनन् । लघुवित्त वित्तीय संस्थाहरुको पनि नियामकको रुपमा रहेको नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई निक्षेप संकलन गर्न रोक लगाएको छ ।
लघुवित्त वित्तीय संस्थाहरुले अन्य बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिकता प्राप्त क्षेत्रको लागि लगानी गर्नैपर्ने रकम थोकमा लिएर कर्जा प्रवाह गर्ने गरेका छन् । अहिले पनि लघुवित्तहरुले १७ प्रतिशतभन्दा बढी व्याज लिइरहेका छन् । आफूहरुको स्रोत नै महंगो भएकोले व्याजदर पनि बढी भएको तथा कर्जा प्रवाह लगायतका कार्यमा लागत बढी हुने भएकोले पनि व्याजदर बढी देखिएको लघुवित्त वित्तीय संस्थाहरुको भनाई छ ।
यस्तै, अर्को फरक प्रसंगमा मन्त्री शर्माले कृषि विकास बैंकको नाम परिवर्तन गर्नुपर्ने बताएका थिए । कृषि विकास बैंकको नाम परिवर्तन गर्नुपर्ने आवश्यकता किन परेको थियो भन्ने बारेमा पनि मन्त्री शर्माले कुनै जानकारी गराएनन् ।























