सुपरमादी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?
Monday Jan 23, 2023
वि.सं.२०७९ माघ ९ सोमवार ०९:५१
सुपर मादी हाइड्रोपावर लिमिटेडले आज (बिहान १० बजे)देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा माघ २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।
कम्पनीले कास्कीको मादी गाउँपालिकामा ४४ मेगावाटको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यसको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १८ करोड ९७ लाख ७२ हजार रुपैयाँ रहेको छ।

























