समिट अपार्टमेन्ट, पीडित र महानगरबीच १२ बुँदे सहमति : घटना छानविनका लागि समिति गठन
Monday Apr 10, 2023
वि.सं.२०७९ चैत २७ सोमवार १०:०७
समिट अपार्टमेन्ट, पीडित र महानगरबीच १२ बुँदे सहमति ः घटना छानविनका लागि समिति गठन
काठमाडौं । कुपन्डोलको बखुन्डोल स्थित समिट अपार्टमेन्ट निर्माणको क्रममा घर भासिएका पीडित, ललितपुर महानगर, ग्रिनविच होटेल र समिट अपार्टमेन्टबीच आइतबार १२ बुँदे सहमति भएको छ।
अपार्टमेन्ट निर्माणका क्रममा लापरवाही हुदाँ आसपासको क्षेत्र घर सहित भासिएपछि आज ललितपुर महानगरपालिका प्रमुखको नेतृत्वमा आइतबार भएको पिडित तथा अपार्टमेन्ट निर्माण पक्षबीच भएको छलफलमा पीडित र निर्माण पक्षबीच १२ बुँदे सहमति भएको हो ।
प्रभावितलाई तत्काल बसोवासको व्यवस्थापन गर्ने र ग्रिनविच होटेलसमेत भासिएकोले त्यहाँ काम गर्नेलाई खानबस्नको व्यवस्था गर्ने लगायतका सहमति भएको हो ।
यस्तै, रोडको आकस्मिक सहजीकरण कोष खडा गर्ने, घर चर्केका तथा भत्केकाहरूको मर्मत, निर्माण अपार्टमेन्ट व्यवस्थापन गर्ने र तत्काल अपार्टमेन्टले बाँकी निर्माणको काम नगर्ने सहमति भएको छ।
त्यस्तै अपार्टमेन्टको घटना छानबिन गर्न ललितपुर महानगरपालिकाले उपप्रमुखको संयोजकत्वमा अधिकार सम्मपन्न सर्वपक्षीय टोली पनि गठन गरेको हो । बैठकले प्रभावित व्यक्तिहरुको समस्या तत्काल समाधान, सम्बोधन , तथा सहजिकरण र अगुवाई गर्न महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा सात सदस्यीय अधिकार सम्पन्न टोली गठन भएको हो ।
बैठकमा बोल्दै महानगर प्रमुख चिरिबाबु महर्जनले उक्त कार्य तत्काल रोक्ने तथा आवश्यक कानूनी कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्र्दै पीडित पक्षसँग माफि समेत मागेका छन् ।
बैठकमा तत्काल एक करोड राशीको र्यापिड रिलिफ फन्ड स्थापना गरेर प्रभावितलाई सुरक्षा दिने प्रतिवद्धता होटल व्यवस्थापन पक्षले गरेको छ ।
उक्त बैठकले तत्काल पीडितलाई राहत दिन एक करोड राशीको र्यापिड रिलिफ फन्डको स्थापना सहित १२ बुँदे निर्णय गरेको छ । फन्डमा होटल सञ्चालकले एक करोड रुपैयाँ भोलि बिहान सम्म उपलब्ध गराइसक्ने प्रतिवद्धता होटल व्यवस्थापनको तर्फबाट गएका प्रतिनिधिहरु संचित श्रेष्ठ, चौधरी ग्रुपको प्रतिनिधि निर्माण चौधरी तथा रविन्द्र भक्त श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।
त्यस्तै, उक्त कोषको परिचालन, व्यवस्थापन र सञ्चालन गर्न गठित समितिको निर्णय अनुसार गर्ने, प्रभावितलाई क्षतिपूर्ति उपलव्ध गराउने, महानगरपालिकाबाट नक्सा पास स्वीकृत नगराई काम गरेकोमा महानगरपालिकाले कानून बमोजिम हदै सम्मको कारबाही गर्ने, होटल व्यवस्थापनको तर्फबाट चैत्र २५ गते पीडितसंग गरेको प्रतिवद्धतालाई रिफ्रेन्सको रुपमा लिएर सम्बोधन गर्ने,प्रभावित क्षेत्रमा जोखिम शुन्य अवस्थाको सुनिश्चितता गर्न आवस्यकता अनुसार प्राविधिक टोली परिचालन तथा अनुुगमन गर्ने लगाएतका विविध १२ बुँदे सम्झौता तीन पक्षका बीचमा भएको छ ।
टोलीमा महानगरपालिकाको प्रवक्ता राजु मर्हजन सदस्य, पीडित पक्षबाट तीन जना प्रतिनिधि रञ्जन ध्वज विष्ट,रचना शाही र प्रविन आचार्य सदस्य, समिट अपार्टमेन्ट ९होटल० व्यवस्थापनको तर्फबाट संचित श्रेष्ठ सदस्य, जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत प्रतिनिधि सदस्य, महानगरपालिकाको वडा नम्बर एक र दुईका वडा अध्यक्ष सदस्य तथा मनपाकै पूर्वाधार निर्माण महाशाखा प्रमुख सदस्य सचिव उक्त टोलीमा रहेका छन् ।
महानगर प्रमुख र उपप्रमुख प्रभावित क्षेत्रको निरिक्षणमा पुग्दा प्रभावित स्थानीयले घटना घटेपछि पनि उद्धार र त्यसका सम्बन्धमा स्थानीय सरकारले चासो नदिएको भन्दै व्यापक आक्रोस पोखेपछि स्थलगत निरिक्षण गर्न पुगेका नगरप्रमुख चिरिबाबु महर्जनले तत्काल सर्वपक्षीय बैठक बोलाएका थिए ।
बैठकमा उपस्थित अधिकांस पीडितले महानगरपालिका र स्थानीय जनप्रतिनिधि समक्ष पटक पटक आफ्ना समस्या लिएर वडा देखि नगरपालिका सम्म पुग्दा व्यवास्ता गरेको, घटनाको दुई दिन बित्न लाग्दा समेत त्यसको कुनै भौतिक क्षतिको मुल्याङ् नगरेको भन्दै त्यसको व्यापक विरोध गरे ।
उपस्थित पीडितले सरकारलाई नक्सा विपरित निर्माण कार्य गरिरहेको र त्यसले स्थानीय रातिको समयमा सुत्न नसक्ने अवस्था आएपछि वडादेखि महानगरपालिका सम्म निवेदन लिएर महिनौ अघिबाट निकायमा पुग्दा समेत चासो नदिएको भन्दै सबैले महानगरको वेवास्ता प्रति आका्रेस पोखे ।
बैठकमा बोल्दै महानगर प्रमुखले आफ्नो दुई कार्यकालमा यस्तो घटना नभएको बताउँदै गैरकानूनी घटना भएको र त्यसलाई तत्काल निर्माण कार्य रोकेर आवश्यक कानूनी कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त अपार्टमेन्ट, चौधरी गु्रप लगायत अन्य तीन जना व्यावसायीक व्यतिmले मिलेर गैर कानूनी रुपमा निर्माण गरिरहेका थिए । गत शुक्रबार राती निर्माण कार्य चलीरहेकै समयमा बखुण्डोलको निर्माणाधिन एरिया भासिएको थियो । जसमा तीन घरमा पूर्ण तथा अन्यमा आंशिक रुपमा क्षती पुग्नाका साथै वरिवपरिको एरिया भासिएको तथा जोखिमपूर्ण रहेको छ । तर, क्षतीको पूण विवरण आइसकेको छैन् ।
बैठकमा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, उपप्रमुख मञ्जली शाक्य,प्रवक्ता राजु महर्जन,होटल व्यवस्थापनको तीनै जना प्रतिनिधि लगायत पीडित पक्ष तथा विभिन्न निकायका प्रतिनिधि उपस्थित थिए ।






















