नेपाल प्रहरी अस्पतालले आफ्नो ३९ औं वार्षिकोत्सव मनायो
Monday Apr 10, 2023
वि.सं.२०७९ चैत २७ सोमवार १९:२०
काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्जले सोमबार आफ्नो ३९औं वार्षिकोत्सव मनाएको छ ।
बार्षिकोत्सवको अवसरमा प्रहरी अस्पताल महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उपचारको क्षेत्रमा अस्पतालले खेलेको भुमिकाको प्रसंशा गरे ।
महानिरीक्षक कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान गरिदै आएको २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरे ।
उनले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७९’ र नेपाल मेडिकल जर्नलको समेत लोकार्पण गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पु¥याउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गरे ।
उनले अस्पतालबाट प्रवाह हुने सेवा प्रहरी कर्मचारीको मनोबलसँग समेत गाँसिने भएकोले उत्कृष्ट व्यवहार र भावनाका साथ सेवा प्रवाह गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन पनि दिए ।






















