निगमले उपभोक्ताको गला रेटेर व्यापारी पोस्ने काम गरेको अध्यक्ष महर्जनको आरोप
Monday Oct 02, 2023
वि.सं.२०८० असोज १५ सोमवार ०८:४४
काठमाडौं । राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपाल आयल निगमले उपभोक्ताको गला रेटेर व्यापारी पोस्ने काम गरेको आरोप लगाएका छन् ।
आईतबार मन्चको १८ औं साधारण सभा तथा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निगमले पेट्रोलियम पदार्थमा अत्यधिक मूल्यवृद्धि गरेर उपभोक्ताको गला रेटेर व्यापारी पोसाउने काम गरेको बताएका हुन् ।
उनले भने, ‘आज हामी आफनो स्थापना दिवस खुसीका साथ मनाइ रहेको बेलामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा अत्याधिक मूल्यवृद्धि गर्ने काम गरेको छ । उपभोक्ताको गला रेटेर व्यापारी पोसाउने निगमलाई आजको यो अवसरमा बधाई दिँदा कसो होला रु राष्ट्रिय उपभोक्ता मन्च र यो सभामा उपस्थित सबैको तर्फबाट नेपाल आयल निगमले गरेको अनुचित मूल्यवृद्धिको पूर्ण रुपमा विरोध गर्दछ ।’
उनले स्वचालित मूल्य प्रणालीमा सरकार र निगम आफैले ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गर्दैनौ भनेको अवस्थामा दुई पटक दुई दुई सय भन्दाबढि मूल्य बढाई बदमास व्यापारले रातारात लखपति भएको दाबी गरे ।
उनले भने, ‘स्वचालित मूल्य प्रणालीमा सरकार र निगम आफैले ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गर्दनौं भनेको अवस्थामा दुई पटक दुई दुई सय भन्दाबढि रुपैयांको भाउ बढाई २११० पुर्याउने काम गरेको छ ।
निगमलाई कति फाइदा भो त्यो निगमले जानोस् तर निगमको बदमासीले व्यापारी रातारात लखपति चाँहि पक्कै भएको छ ।’
अध्यक्ष महर्जनले सुशासनको प्रत्याभुति नभएकै कारण आज जनताको लोकप्रिय शासनको रुपमा रहेको गणतान्त्रिक व्यवस्था बदनाम भईरहेको टिप्पणी गरे ।
सरकारको नेतृत्व गर्ने व्यक्तिहरुमा पलाएको लोभी पापी मनले गर्दा बजार दिनहुँ अराजक हुँदै गएको उनको भनाई छ ।
























