भृकुटीमण्डपमा कमजोरी राज्यकै : मन्त्री आचार्य
Monday Dec 18, 2023
वि.सं.२०८० पुस २ सोमवार १७:१०
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपको व्यवस्थापनमा राज्यले समुचति ध्यान दिन नसकेको पाइएको बताएका छन् ।
भृकुटीमण्डप हाताभित्र अवस्थित खुल्ला बजारको ३२ औं स्थापना दिवस तथा बृहत रक्तदान कार्यक्रममा आज सहभागी बनेका उनले भने ‘नियमकानुनले हुने काम छिटै गरिनुपर्छ ।’
समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटीमण्डपमा सुधारका कामहरु गर्नुपर्ने भएको मन्त्री आचार्यले बताए ।
‘भृकुटीमण्डपको अवस्था सुधार र यहाँ रहेका व्यवसायीहरुको माग सम्बोधन गर्नुपर्छ भनेर भनेको थिएँ, त्यसैको परिणामस्वरुप यसपटक बजेट अलि बढी छुट्टिएको छ ।
बजेट छुट्याउने मात्रै होइन त्यसको कार्यान्वयनमा पनि परिणाम देखिनु पर्छ,’ आचार्यले भने ।
छुट्याइएको बजेटबाट यसै वर्ष ५÷७ सय स्टलहरुको निर्माण सुरु हुनुपर्ने उनले बताए ।
‘यहाँका अध्यक्ष लगायत तीन सदस्य समाज कल्याण परिषद्का सदस्य सचिव र विभागीय प्रमुखहरु दुर्गा भट्टराई र दीपेन्द्र पन्तसहित ६ जनाको एउटा समूह बसेर यहाँको समस्या बुझ्नुपर्छ,’ उनले भने, ‘यो कुनै १०÷१५ दिनको कुरा होइन । समस्या के छ बुझेर निकास दिनु पर्छ ।’ नियमले गरिनुपर्ने काम तत्काल हुनुपर्ने उनले धारणा छ ।
भृकुटीमण्डपको अवस्था सुधारका लागि हुनुपर्ने काममा राज्यकै तर्फबाट कमी कमजोरी भएको देखिएको उनको भनाइ थियो ।

























