चारवटै महानगरपालिकामा एमालेको अग्रता

Tuesday May 16, 2017
वि.सं.२०७४ जेठ २ मंगलवार १५:४०

मंगलबार बेलुकासम्म आएको परिणाम अनुसार चारवटै महानगरपालिकामा एमालेले अग्रता लिएको छ । दिउँसो पछि परेको एमालेले काठमाडौँ महानगरपालिकामा पनि साँझदेखि अग्रता लिन सफल भएको हो ।
काठमाडौँमा एमालेका विद्यासुन्दर शाक्यले ६२५ मतसहित अग्रता लिएका छन् । त्यसैगरी उनलाई पछ्याइरहेका कांग्रेसका राजुराज जोशीले ५९४ मत ल्याएका छन् ।
तेस्रो नम्बरमा रहेका साझा पार्टीका किशोर थापाले २३३ मत ल्याउँदा विवेकशील नेपालीकी रञ्जु दर्शनाले २२३ मत ल्याउन सफल भएकी छन् ।
उपमेयर पदमा भने काठमाडौँमा कांग्रेसले अग्रता लिएको छ । जहाँ कांग्रेसका उम्मेदवारको मत ४६० छ भने राप्रपाका उम्मेदवार ३४० मतसहित पछ्याउँदैछन् ।
ललितपुरमा पनि एमाले अगाडि
त्यसैगरी ललितपुर महानगरमा पनि एमालेले अग्रता लिएको छ । दिउँसो त्यहाँ पनि कांग्रेसले अग्रता लिएको थियो ।
पछिल्लो मतपरिणामअनुसार एमालेका हरिकृष्ण व्यञ्जनकारले ४८११ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका चिरीबाबु महर्जनले ४७२२ मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रका दिपेश महर्जनले १०७७ मत ल्याएका छन् ।
उपमेयरतर्फ कांग्रेसकी गीता सत्यालले ३७१० मत ल्याएकी छन् । यस्तै राप्रपाका बाबुकाजी थापाको केबल २१११ मत छ । ललितपुरमा एमाले-राप्रपाबीच तालमेल थियो । तर एमालेका मतदाताले राप्रपाका उम्मेदवारलाई भोट नहालेको देखिएको छ ।
यस्तै उपमेयरमै माओवादी केन्द्रकी हसिना शाक्यले १३१६ मत ल्याएकी छिन् ।
चितवनमा ज्ञवालीको अग्रता
चितवनको भरतपुर महानगरपालिकामा फेरि माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल पछि परिरहेकी छन् । सुरुदेखि एमालेका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएको अवस्थामा केही समय कांग्रेसकी समेत उम्मेदवार रेणु दाहालले अग्रता लिएकी थिइन् ।
तर मंगलबार साँझसम्मको परिणाममा एमाले उम्मेद्वार ज्ञवाली अगाडि आएका हुन् । उनले १ हजार ३७३ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रकी रेणु दाहालले ९८७ र राप्रपाका बद्री तिमिल्सिनाले ९० मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाहले एक हजार १८७ मत पाएकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यले एक हजार १०८ मत प्राप्त गरेकी छन् । राप्रपाकी रिना गुरुङले १०८ मत पाएकी छन् ।
भरतपुर महानगरपालिकाको वडा नं. १ बाट गणना थालिएकोमा आज दिउँसोबाट वडा नं. २ को समेत मतगणना सुरु गरिएको छ । हालसम्म प्राप्त नतिजा वडा नं. १ को हो ।
सो वडामा वडा अध्यक्ष र सदस्यमा नेकपा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् । भरतपुर महानगरपालिकामा एक लाख १२ हजार सातसय मत खसेको छ ।
पोखरामा पनि एमालेकै अग्रता
पोखरा लेखनाथमा पनि कांग्रेस-माओवादी गठबन्धनलाई पछि पार्दै एमालेका मानबहादुर जिसीले निरन्तर अग्रता बनाइरहेका छन् ।
पोखरा मनपा ३ मा जिसीले नेपाली काग्रेसका उमेद्वार रामजी कुवँरले भन्दा ३ सय मत गणना गर्दा १५ मतले अग्रता लिएका छन् ।
वडा नम्बर ३ कांग्रेसको गढका रुपमा लिइन्छ । जिसिले अहिलेसम्म ३२ सय ५६ मत प्राप्त गरेका छन् भने कुवँरले २६ सय २७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कांग्रेसकी उपमेयरकी उमेद्वार सरस्वती गुरुङले २५ सय ६३ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जु गुरुङको ३१ सय ५४ मत प्राप्त गरेकी छन् ।