अमेरिका र चीनबीच आदानप्रदान भएको प्रत्यक्ष वैदेशिक लगानी गत वर्ष ६० अर्ब डलर पुग्यो

Monday May 22, 2017
वि.सं.२०७४ जेठ ८ सोमवार १०:५२

८ जेठ, वासिङ्टन- अमेरिका र चीनबीच आदानप्रदान भएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) गत वर्ष ६० अर्ब अमेरिकी डलर पुगेको छ । यो हालसम्मकै उच्च भएको रोडियम ग्रुप र नेसनल कमिटी अन यूएस–चाइना रिलेसन (एनसीयूएससीआर) ले जनाएका छन् ।
“अमेरिका–चीनबीचको दुईतर्फी एफडीआई गत वर्ष हालसम्मकै उच्च कायम भएको छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ, “कुनै समय अमेरिकाबाट एकतर्फी रूपमा चीनमा पैसाको प्रवाह भए पनि हाल यो दुईतर्फी भएको छ ।
हाल दुवैतर्फ गरेर अर्बौं रुपैयाँको एफडीआई प्रवाह भएको छ ।” २०१६ सम्मको अवधिमा अमेरिकाबाट चीनतर्फको समग्र प्रवाह २ सय ४० अर्ब डलर पुगेको छ । यसैबीच चीनबाट पनि अमेरिकामा गत वर्षको अन्त्यसम्ममा ११० अर्ब डलर पुगेको छ । चिनियाँ अर्थतन्त्रमा भएको विस्तारले अमेरिकाले चीनमा गरेको लगानी कीर्तिमानी अवस्थामा पुगेको छ ।
चिनियाँ कम्पनीले पनि अमेरिकामा ४६ अर्ब डलरको कीर्तिमानी लगानी गरेका छन् । यो २०१५ को तुलनामा तेब्बर हो । यो पाँच वर्षअगाडिको तुलनामा दस गुणा बढी भएको विज्ञप्तिमा उल्लेख छ । २०१३ अगाडि खनिज तेलमा लगानी ठूलो परिमाणमा हुने गरेकोमा २०१६ मा चिनियाँ एफडीआईको ९० प्रतिशत भन्दा बढी सेवा र विकसित म्यानुफ्याक्चरिङको क्षेत्रमा भएको छ ।
२०१६ मा रियलइस्टेट र आतिथ्य, सूचना र सञ्चार प्रविधि, मनोरन्जन, उपभोक्ता उत्पादन र वित्तीय क्षेत्रमा चीनबाट अमेरिकामा हुन थालेको दुवै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ लगानीकर्ताहरू थप विस्तारित भएका छन् र अमेरिकामा आफ्नो उपस्थितिलाई बढाउँदै लगेका छन् । हाल अमेरिकी तटीय राज्यहरू न्युयोर्क र क्यालिफोर्नियाले ठूलो परिमाणमा अमेरिकी लगानी आकर्षित गरेका छन् । यसैबीच दक्षिणी र मध्यपश्चिमी राज्यहरूले पनि ठूलो परिमाणमा चिनियाँ लगानी आकर्षित गरेका छन् । एजेन्सी