उच्च रक्तश्रावका कारण एक महिलाको अकालमा मृत्यु

Saturday May 27, 2017
वि.सं.२०७४ जेठ १३ शनिवार ०८:४४

१३ जेठ, जुम्ला- उच्च रक्तश्रावका कारण तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी एक महिलाको अकालमा मृत्यु भएको छ। मृत्यु हुनेमा २७ वर्षीया ज्ञानु भट्टराई छन् । भट्टराईलाई बिहीबारदेखि व्यथा लागेको र तत्काल अस्पताल आउन नमानेका कारण शुक्रबार उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको मृतकका श्रीमान् जग्गीप्रसादले जानकारी दिए। भट्टराईलाई जुम्ला अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
भट्टराईको उच्च रक्तश्रावका कारण मृत्यु भएकोे प्रतिष्ठान जुम्लाका डा राजीव शाहले जानकारी दिए। ‘गर्भवतीलाई टेम्पुमा बेहोस अवस्थामा ल्याइएको थियो, होसमा नआई उनको मृत्यु भयो’ उनले भने। रक्तश्राव अघिल्लो दिनदेखि भएको तर पारिवारिक हेलचक्र्याइँका कारण बिरामी समयमै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको उनको भनाइ छ ।
डा. शाहका अनुसार ज्ञानुको यसअघि दुई वटा शल्यक्रियाबाटै शिशु निकालिएको थियो । स्थानीयवासीका अनुसार ज्ञानुलाई जुम्ला सदरमुकामबाट २० किमी दूरीको कुडारी लुम्सेरा गाउँबाट बसमा उपचार गर्न अस्पताल ल्याइएको थियो। रासस