प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित
Tuesday Aug 04, 2026
वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न गरेको छ। साउन १४ देखि १७ गतेसम्म आयोजित सम्मेलनमा आर्थिक वर्ष २०८२/८३ को समीक्षा, आगामी वर्षको व्यवसायिक रणनीति तथा उत्कृष्ट कर्मचारी र शाखालाई सम्मान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गर्दै सम्मेलनको उद्घाटन गरेका थिए। कार्यक्रममा उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले अघिल्लो वर्षको तुलनामा उत्साहजनक व्यवसायिक वृद्धि हासिल गरेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको रणनीति कार्यान्वयनमा आत्मविश्वासका साथ अघि बढ्न कर्मचारीलाई आग्रह गरे।
सम्मेलनमा देशभरबाट व्यवस्थापन टोली, प्रदेश प्रमुख, शाखा प्रमुख तथा सेल्स एक्जुकेटिभसहित करिब २०० जनाको सहभागिता रहेको थियो। सो अवसरमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ तथा शाखाहरूलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। उक्त प्रशिक्षणले व्यवसायिक क्षमता अभिवृद्धिमा सकारात्मक ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) किशोरप्रसाद लामिछानेले विगतका अनुभवबाट सिक्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्नुपर्नेमा जोड दिए।
यस्तै, कम्पनीका नायब महाप्रबन्धक तथा नेशनल सेल्स हेड सोनबहादुर मगरले आर्थिक वर्ष २०८३/८४ को व्यवसायिक रणनीति प्रस्तुत गर्दै निर्धारित लक्ष्य हासिल गर्न सबै कर्मचारीको सक्रिय भूमिका आवश्यक रहेको बताए।























