शहरी विकास आयोजनाको बेवास्ताले जनतालाई महिनौ सास्ती
Saturday May 27, 2017
वि.सं.२०७४ जेठ १३ शनिवार ११:११
१३ जेठ, जनकपुरधाम- एकीकृत शहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत्को सास्ती महिनौँदेखि भोग्नु परिरहेको छ ।
आयोजनााले समन्वय गरी काम नगर्दा टेलिफोनको अप्टिकल फाइवरलाई क्षति पु¥याई डेढ हजार जनालाई सञ्चारविहीन बनाएको र बन्द भएको टेलिफोन मर्मत हुने वा नहुने अन्योलको अवस्था सिर्जना भएको छ । नेपाल टेलिकम जनकपुर कार्यालय प्रमुख नारायण काफ्लेका अनुसार आयोजनाले अर्बौंको क्षति पु¥याएका कारण कार्यालयबाट मर्मत कार्य सम्भव नरहेको बताए ।
“प्रजिअ र आयोजना प्रमुखलाई क्षतिबारे ध्यानाकर्षण गराउँदा समेत सकारात्मक पहल नहुँदा मर्मतको सम्भावना क्षीण हुँदै गएको जानकारी दिइएको छ” उनले भने, “प्रमुख जिल्ला अधिकारीले यो समस्यालाई गम्भीरतापूर्वक नलिएका कारण मर्मत अनिश्चित बनेको छ ।” यसैबीच टेलिकमका कर्मचारी र कार्यालय प्रमुखबीच मर्मतका बारेमा विवादसमेत सिर्जना भएको छ । आयोजनाले खानेपानीका पाइपलाई क्षति पु¥याई हजारौँ ग्राहकलाई खानेपानीबाट वञ्चित गराएको छ ।
खानेपानीको पाइपमा भएको क्षतिले सडकमा पानी खेर गइरहेको छ भने ग्राहक पानीका लागि विभिन्न विकल्प प्रयोग गर्न बाध्य देखिएका छन् । तापक्रम वृद्धिसँगै कल र इनारका पानी पनि सुकेकाले बजारबाट पानी किनेर दैनिकी चलाइरहेको विद्यापति चोकका महेश मिश्रले बताए । त्यस्तै नाला निर्माणका लागि प्रयोग गरिएको ह्युम पाइपमा पुरानो नाला नजोडिएका कारण पुरानो नालाको बहाव बन्द भई व्यक्तिको घर र कार्यालय परिसरमा नालाको पानी पसेको छ । समन्वयको अभाव विद्युत्का खम्बा सार्नेमा पनि देखिएको छ । आयोजनाले व्यवस्थित ढङ्गले कार्य सम्पादनमा ध्यान नदिँदा विद्युत् आपूर्तिमा अनियमितता उन्पन्न भएको बताइएको छ । रासस























