माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको मतगणना अनिश्चितकालका लागि स्थगित

Sunday May 28, 2017
वि.सं.२०७४ जेठ १४ आइतवार २३:२५

१५ जेठ, भरतपुर- नेकपा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । भरतपुर महानगर वडा नम्वर १९ को मतगणना चल्दै गर्दा मतपरिणाम आफु अनुकुल नभएपछि माओवादी कार्यकर्ताले एक्कासी मतपत्र च्यातेका हुन् ।
माओवादी भातृ संगठन वाइसीएल जिल्ला इन्चार्ज मधु न्यौपाने र माओवादी केन्द्रका जिल्ला नेता द्रोणवावु सिवाकोटीले मतपत्र च्यातेका थिए ।
मधु न्यौपानेलाई गिरफ्तार गरेपछि पुनः माओवादी केन्द्रका जिल्ला नेता सिवाकोटीले दोस्रो पटक मतपत्र च्यातेका थिए । अहिले मतगणना स्थगित भएको छ ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका छन्।
‘म शौचालय गएको बेला मतगणनास्थल रणमैदान भयो’, उनले संचारकर्मीहरुसँग भने, ‘मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ ।’