परम्परागत लोकगीत सम्मेलनमा गुन्जिए सात प्रदेशकै लोकभाका
Monday Jun 05, 2017
वि.सं.२०७४ जेठ २२ सोमवार ००:३९
२२ जेठ, काठमाडौँ- नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठानको लोकसंगीत विभागले शुक्रबार राजधानीको नाचघरमा एकै थालोमा सातवटै प्रदेशका लोकभाका प्रस्तुत ग¥यो ।
नयाँ पुस्तालाई लोकभाका सिकाउँदै यसको संरक्षणतर्फ प्रेरित गर्न आयोजित परम्परागत लोकगीत सम्मेलनमा कलाकारले सात प्रदेशकै लोकभाका सुनाएका हुन् ।
कार्यक्रममा प्रदेश १ बाट अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्रका कमल खत्रीले लिम्बू समुदायको पालम गीत प्रस्तुत गरे । प्रदेश १ बाटै दीपेन्द्र सिटौलाले पूर्वेली मारुनी भाका गाएर दर्शकलाई नचाए ।
प्रदेश–२ बाट बन्दना मैनालीले मिथिला भाषाको गीत ए थिम बलमजी…सुनाइन् । प्रदेश–३ बाट गायिका इन्दिरा तामाङले तामाङ सेलो गाउँदै दर्शकको मन जितिन् ।
यस्तै, प्रदेश–४ बाट कृष्ण गुरुङ, भिमकला गुरुङ र टिका गुरुङले सालै जो भाकामा गीत सबै डाँडाभन्दा धौलागिरी…र कौडा भाकामा अर्को गीत रहरै मायालु… पनि गाए । प्रदेश ५ बाट चन्द्र चलाउनेले ठाडी भाका गाएर कार्यक्रमको रौनक बढाए । सोही कार्यक्रममा प्रदेश–५ बाटै गायक विपिन घिमिरेले टप्पा भाकामा गीत कोदी काम्दा… प्रस्तुत गरे ।
कार्यक्रममा प्रदेश–६ बाट रिता बुढाथोकीले प्रस्तुत गरेको थारू भाषाको गीत पनि त्यत्तिकै आकर्षक थियो । यस्तै, प्रदेश–७ बाट गायिका चाँदनी मल्लले देउडा भाका सुदूरपश्चिम स्वर्गसरी…गीत गाएर दर्शकलाई देउडाको स्वाद चखाइन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘परम्परागत लोकगीत सम्मेलन–२०७४’ सातवटै प्रदेशका लोकभाका प्रस्तुत गरिएको हो ।
पूर्वप्रधानमन्त्री एवं एमालेका नेता झलनाथ खनालले मादल बजाएर कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रममा भने, ‘हाम्रो मुलुकमा हरेक क्षेत्रमा परम्परागत एवं मौलिक लोकभाका छन् । यस्ता लोकसंगीत सम्मेलनले लोकभाकाको संरक्षणसँगै संस्थागत विकासमा मद्दतपुग्ने देखिन्छ ।’
मुलुकको पहिचान जोगाउँदै अझ समृद्ध बनाउन यस्ता लोकभाका तथा संस्कृति जगेर्ना गर्नु आवश्यक भएको पनि खनालले बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) ले लोक संगीतको महŒवबारे प्रकाश पार्दै यस्ता मौलिक गीतको संरक्षणका लागि सम्मेलन आयोजना गरिएको बताए । सो कार्यक्रमकी संयोजक एवं प्रतिष्ठानकी प्राज्ञ पवित्रा घर्तीमगरले प्रतिष्ठानले लोक गीतसंगीतबारे गरेका कार्यबारे जानकारी गराइन् ।
साभार ः राजधानी दैनिक




























